लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार, प्रतिमन ९० हजार रुपैयाँ

 कात्तिक १२, २०८१ सोमबार १५:१४:५९ | रासस
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो ।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिनुभयो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य बढेकाे हो । उत्पादन कम  र माग बढी भएका कारण अलैँचीको मूल्य बढेकाे अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको शुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरू गरेको व्यवसायी बताउँछन् । ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको छ ।

अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ वटा जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया