चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयाे

 कात्तिक २२, २०८१ बिहीबार १२:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतमा रहेकाे चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाकाे पहिरेबेंंसीमा रहेकाे त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई हिजाे चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

यसैगरी चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेशन पनि हिजाे नै चार्ज गरिएको छ । याे सबस्टेशनमा २ सय २०/१ सय ३२ केभी, १ सय ६० एमभीएका दुई वटा बैंक गरी ३ सय २० एमभीए र १ सय ३२/३३ केभीतर्फ ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजनाअन्तर्गतकै त्रिशूली थ्री बी हब २ सय २० केभी क्षमताको सबस्टेशन यसअघि नै सञ्चालनमा थियो ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइनले झन्डै १२ सय मेगावाट बिजुली प्रवाह गर्न सक्छ ।

अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्ल्यू) को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (ईआईबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली जुनसुकै बेला जोड्न सकिने बताउनुभयो ।

चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १ सय ११ मेगावाटका रसुवागढी, ४२ दशमलव ५ मेगावाटको साञ्जेन र १४ दशमलव ८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली चिलिमे हब सबस्टेशनमा जोडिने छ ।

रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादनको चरणमा छन् । दशैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो ।

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहदेखि ६ सय ८० देखि २६ सय मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो ।

ती ठाउँसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको छ । हेलिकप्टरबाट समेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो ।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गा, गिटी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी पहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयवासीको अवरोध, कोभिड–१९ सङ्क्रमण, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

उत्तरगया गाउँपालिका–१ तिरुबाट यही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने याे खण्ड (मैलुङ क्रसिङ) मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो ।

प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बिजुली जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले  मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ सालको पुसमा कार्यान्वयनमा आएको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया