अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने

 कात्तिक २२, २०८१ बिहीबार १५:१४:५८ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनलाई अन्तिम रूप दिइरहेको बताउनुभएको छ ।

अस्ट्रेलियाले एक उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिरहेको छ जसले बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँचबाट रोक्न मद्दत गर्दछ । यो कानून ढिलोमा अर्को वर्षको अन्तिमदेखि लागू हुने प्रधानमन्त्री अल्बानिजले बताउनुभएको अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

सामाजिक सञ्जालले हाम्रा बच्चाहरूलाई हानि पुर्‍याइरहेको छ र यसको समाधानका लागि मैले काम गरिरहेको छु, अल्बानिजले एक पत्रकार सम्मेलनमा भन्नुभएको छ ।  उहाँले  सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हुने जोखिमहरू उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको विकासमा पनि समस्या सिर्जना भएको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताउनुभएको छ ।

सामाजिक सञ्जाल बालबालिकाका लागि डिजिटल निकोटिन भएको महान्यायाधिवक्ता ब्रायन श्वालको जिकिर छ । विपक्षी लिबरल पार्टीले प्रतिबन्धको समर्थन व्यक्त गरेको छ ।

नयाँ कानूनले अभिभावकको सहमति भएका वा पहिले नै खाता भएका बालबालिकालाई पनि कुनै छुट नदिइने स्पष्ट पारेको छ । अस्ट्रेलियाका सञ्चारमन्त्री मिशेल रोल्यान्डले फेसबुक, ट्विटर अर्थात् एक्स, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल अब बालबालिकाले प्रयोग गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।

अहिलेसम्म केही देशहरूले कानूनमार्फत बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग रोक्ने प्रतिज्ञा गरिसकेका छन् । यद्यपि अस्ट्रेलियाको नीति सबैभन्दा कडा छ । फ्रान्सले गएको वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । यद्यपि प्रयोगकर्ताहरूले अभिभावकको सहमतिमा चलाउन पाएका छन् ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया