लमजुङको पाउँदीमा बाला चर्तुदशी मेला : झण्डै ५ हजारले छरे सतबीज

 मंसिर २०, २०७५ बिहिबार १७:७:३८ | श्यामशितल परियार

लमजुङ  – सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित मर्स्याङ्दी नदी किनारामा रहेको सिद्धेश्वर महादेव शिवालय मन्दिरमा बाला चतुर्दशी मेला लागेको छ । 

मन्दिर परिसरमा बिहानैदेखि नदीमा स्नान गर्ने र सतबीज छर्न आउनेहरुको घुइँचो लागेको छ । सिद्धेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष ठूलो एकादशी र बाला चतुर्दशीको दिन ठूलो मेला लाग्छ । दर्शानार्थीहरुको घुइँचो लाग्छ । पाउँदी लमजुङको प्रवेशद्वार हो । 

यसवर्ष झण्डै ५ हजारले सतबीज छरेको सिद्धेश्वर महादेव शिवालय संरक्षण समिति पाउँदीका अध्यक्ष चन्द्रप्रसाद पोखरेलले बताउनुभयो । बर्सेनि यहाँसम्म आउने दर्शानार्थीहरुको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । 

एकादशी मेला भर्नका साथै बाला चतुर्दशीका दिन सतबीज छर्न पाउँदीमा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा र कास्कीबाट समेत उलेख्य संख्यामा भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । 

पितृले मोक्ष पाउने विश्वास      

बाला चतुर्दशीका दिन भोको पेट बसी बिहानै नदीमा स्नान गरी सतबीज छरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको बर्सेनि आफ्ना स्वर्गीय बुवाआमा र छोराको नाममा सतबीज छर्दै आउनुभएकी हर्राबोटकी विष्णुमाया धितालले बताउनुभयो ।    

बाला चतुर्दशीका दिन सतबीज छरेमा पितृले पाउने विश्वास रहिआएको सिद्धेश्वर शिवालय मन्दिरका पुजारी विष्णुहरि गौलीले बताउनुभयो । उहाँका अनुसार धान, मकै, गहुँ, जौलगायतका अन्न शतबीजका रुपमा नदी किनारमा रहेका मन्दिर, ढुंगा, पीपलको फेदमा छर्ने परम्परा रहेको छ । 

पाउँदीमा विभिन्न समयमा लाग्ने धार्मिक मेलामा स्थानीय स्तरमै उत्पादित घरेलु हस्तकलाका सामानका साथै कृषिजन्य वस्तु समेत बिक्रीका लागि ल्याइन्छ ।  

मेलामा डोको, डालो, नाम्लो, कोदालोलगायतका कृषि औजारका साथै सुन्तला, बदामलगायतका कृषि उपज बिक्रीका लागि ल्याइएका थिए ।    

पाउँदीमा लागेको बाला चतुर्दशी मेलामा मानिसहरुको निकै चाप रहेको र व्यापार पनि राम्रो रहेको बदाम व्यापारी मनोज चौधरीले बताउनुभयो । 

‘मेलामा मान्छे थुप्रो थिएँ । आज मात्रै झण्डै ५ सय माना बदाम बेचेँ । प्रति माना ३५ रुपैयाँका दरले बदाम बेचेको हूँ । मेलामा आज मात्रै झण्डै १६ हजार रुपैयाँ बराबरको व्यापार भएको  छ’, खुशी हुँदै उहाँले भन्नुभयो । 

परम्परादेखि नै धार्मिक मेला लाग्दै आएको नदी किनारामै रहेको शिद्धेश्वर महादेव शिवालय मन्दिर संरक्षणमा सम्वन्धित निकायले चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ । 

यसवर्ष मेलामा झण्डै ६ हजार रुपैयाँ भेटी संकलन भएको छ । गएको एकादशीमा १९ हजार २ सय रुपैयाँ भेटी संकलन भएको थियो । संकलित भेटी मन्दिरको स्तरोन्नतिमा खर्च हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया