शान्ति प्रक्रिया सफल पाराैँ, मलाई श्रेय चाहिएन : प्रधानमन्त्री ओली

 चैत १४, २०८१ बिहीबार १२:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डाैमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरू गरेको र आफैँले अगाडि बढाएको बताउनुभयो । उहाँले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन र सफल पार्न मात्रै चाहेको तर त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पीडितका घाउमा मलम लगाउन र अबदेखि नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुङ्ग्याइने भन्दै समझदारी गर्न आह्वान गर्नुभयो । तीन राजनीतिक दलले सङ्कल्प गर्ने हो भने धेरै समय नलाग्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले शान्ति प्रक्रिया आफैँले शुरू गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय मबाहेक अरू सबैलाई दिन चाहन्छु । मलाई श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मलम लगाऔँ । उहाँहरूका आँशु पुछौँ । नेपाली नागरिकलाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुनेछ ।’

ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि त्याे हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गर्नुभयो । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । नागरिकलाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरूले लिनुपर्ने भन्दै उहाँले नागरिकलाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । अशान्ति भड्काउने दिशामा नजान उहाँले सबै राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले नागरिकका सुझाव सुन्नका लागि आफू सधैं तयार रहेकाे बताउनुभयाे । सबैको रचनात्मक भूमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको उहाँले उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया