देउवासहित ७ सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित
चैत १९, २०८१ मंगलबार
६ महिनाअघिको बाढी पहिरोले काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग नागढुङ्गा–नौबीसे सडक खण्ड ठाउँठाउँमा भत्कियो । अहिले भत्किएका ठाउँ मर्मतसँगै सडक विस्तारको काम पनि भइरहेको छ । मर्मत र विस्तारको काम ढिलो भएको भन्दै यात्रु र चालकहरू आउँदो वर्षायामको यात्रा कस्तो होला भनेर अहिलेदेखि नै चिन्तामा छन् । यस्तै चिन्ता छ सुर्खेतकाे वीरेन्द्रनगरका सुमन ओलीकाे पनि । काठमाण्डौ बस्ने छोराहरूलाई भेट्न नियमित रूपमा काठमाण्डौ–सुर्खेत ओहोरदोहोर गर्ने उहाँ भन्नुहुन्छ, ‘हरेक पटक यात्रा झन्झन् सकसपूर्ण बन्दै गएको छ ।’
‘हिउँदमा धुलो र खाल्डाखुल्डीले हैरान, जाम सधैँको समस्या, अनि वर्षामा त झन् यात्रा गर्न डर लाग्छ’, उहाँले दुखेसो पोख्नुभयो । कहिले भासिएको बाटोमै यात्रा गर्नुपर्छ, कहिले भीरको बाटोमा गाडी खोलामा खस्ने हो कि भन्ने त्रासमै यात्रा गर्नुपर्छ । ‘देशको राजधानी छिर्ने मुख्य सडकको हालत देखेर कहिलेकाहीँ त रुनै मन लाग्छ’, उहाँले गुनासो गर्नुभयो ।
नागढुङ्गा–नौबीसे र नौबीसे–मुग्लिनसम्म सडक विस्तारको काम भइरहेको छ । तर काम कहिले सकिन्छ भन्ने थाहा छैन । कतै बाटो फराकिलो पारिँदैछ, कतै पर्खाल लगाइँदैछ । धूलो यति उड्छ कि आँखाले अगाडिको बाटो देख्नै पनि गाह्रो हुन्छ । ‘वर्षामा काठमाण्डौ भए यहीँ बस्छु, गाउँमा भए उतै बस्छु । बाटोको हालत हेर्दा यात्रा गर्नै कठिन छ’,ओलीले थप्नुभयो ।
काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका अनुसार नागढुङ्गा नाका हुँदै हरेक दिन झन्डै तीन हजार गाडी काठमाण्डौ भित्रिन्छन्, त्यति नै बाहिरिन्छन् । यात्रुको हिसाब गर्दा दैनिक ३० हजारभन्दा बढी काठमाण्डौ छिर्छन् भने २६ हजार जति बाहिरिन्छन् । यति धेरै यात्रु र गाडी ओहोरदोहोर गर्ने सडक सद्दे छैन ।
असोजको बाढी–पहिरोले भत्काएका सडक अझै पूर्णरूपमा बनेका छैनन् । बाटो विस्तारको काम त भइरहेको छ, तर धेरै ठाउँमा जीर्ण सडक, साँघुरो लेन, खाल्डाखुल्डी र धूलोले यात्रा असहज बनाएको छ ।
सडकको यो अवस्थाले अबको बर्खायामको यात्रा झन् कष्टकर हुने सङ्केत गरेको छ । धनगढी–काठमाण्डौ ट्रक चलाउने पदमबहादुर ऐरीलाई वर्षामा यो बाटो झन् जोखिमपूर्ण हुने हो कि भन्ने चिन्ता छ ।
‘नागढुङ्गादेखि नौबीसेसम्मकै यात्रा सुरक्षित छैन । कामको नाममा जताततै टालटुले मर्मतमात्रै गरिएको छ । यदि वर्षाअघि सडक राम्रोसँग मर्मत भएन भने अघिल्लो वर्षको भन्दा पनि बढी दुर्घटना हुने खतरा छ’, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मुग्लिन–नागढुङ्गा झन्डै ९४ किलोमिटर लामो यो सडकलाई तीन भागमा विभाजन गरी काम भइरहेको छ । मुग्लिन–मलेखु (३९ किलोमिटर), मलेखु–नौबीसे (४३ किलोमिटर), र नौबीसे–नागढुङ्गा (१२ किलोमिटर) ।
मलेखु–मुग्लिन खण्डको ३९ किलोमिटर सडकलाई ठाउँठाउँमा चार लेनको बनाउने काम भइरहेको छ । मलेखु बजार, कुरिनटार, चुम्लिङटार र चरौँदी क्षेत्रमा कालोपत्र गर्न थालिएको छ । ६ वटा पुल बनाउने योजना भए पनि अहिले हुग्दी र चरौँदी खोलाका पुलको मात्र केही काम भएको छ । बाँकी ४ वटा पुल पनि यही वर्षभित्र सक्ने लक्ष्य छ । मलेखु–मुग्लिन खण्डमा अहिलेसम्म २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो वर्षभित्र ५० प्रतिशत काम सक्ने योजना छ ।
सडकको मर्मतकै काम भइरहेकाले ठाउँठाउँमा खाल्डाखुल्डी, भासिएका भाग र जामको समस्या झन् बढेको छ । पर्खाल लगाउने, बाटो फराकिलो बनाउने र कालोपत्र गर्ने क्रममा ठूलो मात्रामा धूलो उड्ने गरेको छ, यसले यात्रा असहज बनाएको छ ।
यो खण्डमा विशेषगरी कृष्णभीरको काम र ट्राफिक व्यवस्थापन ठूलो चुनौती बनेको छ । निर्माण सामग्री व्यवस्थापनमा समस्या भइरहेकाले काममा ढिलाइ भएको मलेखु–मुग्लिन खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्र बताउनुहुन्छ । आउँदो वर्षायाममा बाटो बन्द नहुने गरी काम भइरहेको मिश्रले दाबी गर्नुभयो ।
नागढुङ्गा–नौबीसे खण्डमा चाहिँ ६० प्रतिशत र नौबीसे–मलेखु खण्डमा २८ प्रतिशतमात्र काम भएको छ । बेलैमा ढुङ्गा, गिट्टी, बालुवा नपाउँदा काम प्रभावित भएको नागढुङ्गा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर माधवप्रसाद पौडेल बताउनुहुन्छ । अहिले फेरि बिजुलीका पोल सार्न पनि ठूलो समस्या भइरहेको उहाँले बताउनुभयो ।
यस पटकको वर्षामा सडकमा पहिरो र अवरोध नहोस् भनेर आवश्यक उपकरण र मेशिनहरू तयारी अवस्थामा राखिएको इन्जिनियर पौडेलको भनाइ छ । तर झ्याप्ले खोला र कमेरेको अवस्था निकै डरलाग्दो छ, किनभने त्यहाँ पहिरोको उच्च जोखिम छ ।
६ महिनाअघिको बाढी पहिरोले नागढुङ्गा–नौबीसे खण्डको सिस्नेखोला, नौबीसे–मलेखु खण्डको पीपलमोड, झ्याप्ले खोला तथा मलेखु–मुग्लिन खण्डको चरौँदी र कृष्णभीर क्षेत्रमा सडक बगाएको थियो । ती ठाउँको मर्मत अझै पूरा भइसकेको छैन । समयमै काम सकिने सम्भावना कम देखिएकाले गाडी चालक र यात्रुहरू वर्षाको यात्रा कस्तो होला भनेर चिन्तित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।