वेस्ट इन्डिजको टेस्ट कप्तानबाट ब्राथवेटले राजीनामा दिए, टी–२० ...
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – स्वदेशी सरकारी जडीबुटी कम्पनी गएकाे शुक्रवार राजावादीको निशानामा पर्याे । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवम् सुगन्धित जडीबुटीहरू वैज्ञानिक पद्धतिबाट सङ्कलन गराई ती जडीबुटीहरू प्रशोधन गरी स्वदेशी उद्योगहरूलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । त्यति मात्रै नभई कम्पनीले विदेशी बजारमा निकाशी गरी रोजगारी सिर्जना गर्दै आएको छ । नेपाल सरकारको राजश्वमा टेवा पुर्याउँदै आएको उद्योगमा राजावादीहरूले आगजनी गर्दा ठूलो क्षति पुगेको कम्पनीकी कार्यकारी निर्देशक सङ्गीता यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई वटा भवन जलेका छन्, गाडीहरूमा आगो लगाइएको छ, अहिले उत्पादन गर्नसक्ने अवस्था छैन ।’ उहाँका अनुसार आगजनीका कारण कारखाना प्लान्ट पूर्णरूपमा जलेर नष्ट भएको छ । दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुई वटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीहरूले जलाएका छन् ।
आगजनीका कारण औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ, उत्पादनपछि प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेशन प्लान्ट, मेशिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।
विगत ४२ वर्षदेखि कोरा जडीबुटीहरू तथा उब्जनी गरिएका बीज बिरुवाहरू कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद/बिक्री गर्ने तथा औषधिको आवश्यकता पूरा गर्न देशका विद्यमान वनस्पतिका स्राेत परिचालनसमेत गर्ने गरेको छ । कम्पनीले मुख्यतयाः सञ्चाे, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयलजस्ता हर्बल केयर प्रोडक्टहरू उत्पादन गर्दै आइरहेको छ ।
लामो समयदेखि नेपाली बजारमा सञ्चाेको बिक्री ५ मिलिमिटरको सिसीमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकतासमेतलाई सम्बोधन गरेको यादवको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ बाट सिसीको मात्रा बढाई १० मिलिमिटरको सिसी बजारमा भित्राइसकेको थियो । कम्पनीको केन्द्रीय कार्यालयले अहिले उत्पादित सञ्चाेको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको थियो ।
हाडजोर्नी दुखेको, ज्वरो, रोघाखोकी, घाँटी दुखेको, नाक बन्द भएकोजस्ता समस्याको प्राथमिक रोकथाम र उपचारका लागि विश्वासिलो र भरपर्दो औषधिका रूपमा रहेको सञ्चाे परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग भइरहेकोमा आधुनिक प्रविधिको विकाससँगै अत्याधुनिक उत्पादन भवन र मेशिनको प्रयोग गरी स्वचालित प्रविधिबाट आफ्ना उत्पादनहरू बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको बेला तिनै भवन राजावादीको निशानामा परेको छ । यसले कम्पनीकाे सफलताको यात्रामा तत्काललाई 'ब्रेक' लागेको छ ।
न्युज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।