गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि कुखुरापालन व्यवसाय, वर्षमा तीन लाख चोखो बचत

 पुस २, २०७५ सोमबार १७:८:५७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – राजनीतिमा पराजित भएका थलारा गाउँपालिका वडा नम्बर ६ पिखेतका राम खातीले व्यवसायमा भने सफलता हात पार्नुभएको छ ।

स्थानीय तहको चुनावमा थलारा गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका खातीले झण्डै ४ सय मतले हार बेहोर्नु परेको थियो । खाती नेपाली कांग्रेसबाट उम्मेद्वार बन्नुभएको थियो । थलारा गाउँपालिका वडा नम्बर ८ का तत्कालीन एमालेका भुवनेश्वर उपाध्यायले गाउँपालिकाको अध्यक्षका पदमा खातीलाई पराजित गर्नुभएको थियो ।

भुवनेश्वर उपाध्ययसँग पराजित भएका खातीले चुनावपछि कुखुरा पालन व्यवसाय सुरु गर्नु भएको थियो । गाउँका युवाहरुको विदेश मोह रोक्न आफूले गाउँमै व्यवसाय गरेर युवाहरुमा हौसला प्रदान गर्ने उद्देश्यस्वरुप आफूले कुखुरापालन गरेको उहाँले बताउनुभयो ।

‘राजनीतिमा हार भए पनि समाज सेवामा लागेको छु’, खातीले भन्नुभयो, ‘हार आफ्नो ठाउँमा छ । विजयी भइयो भन्दैमा मात्तिने र पराजित भइयो भन्दैमा आत्तिनुपर्ने केही छैन । गर्न सके आफ्नै गाउँ–ठाउँमा राम्रो गर्न सकिन्छ ।’

खातीले कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । अहिले बिहानदेखि साँझ अबेरसम्म कुखुरालाई चारो हाल्नु, पानी दिनु र पोल्ट्रिफर्मको सरसफाई गर्नु उहाँको दैनिकी बनेको छ । ईपीएम विषयमा स्नाकोत्तर पास गरेका खातीलार्ई वैदेशिक रोजगारीको मोहले कहिल्यै पनि नछोएको बताउनुभयो ।

‘सरकारी जागिर खानुपर्छ भन्ने सोच पनि आएन’, खातीले भन्नुभयो, ‘आफ्नो ठाउँको परिवर्तन र विकासका लागि पासपोर्ट बोकेर विदेश हैन, कुटोकोदालो र सीप बोकेर गाउँ छिर्नुपर्छ भन्ने धारणा मेरो छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘पढे–लेखेर जागिरे बन्नुपर्छ भन्ने छैन । सिकेका कुरालाई प्रयोगमा ल्याए नेपालमै सुन फलाउन समय लाग्दैन ।’ युवाहरुको सोचमा परिवर्तन आउनु जरुरी रहेको उहाँको धारणा छ ।

‘पासपोर्ट बोकर विदेश जाने हैन, देशभित्रै व्यवसायिक बन्न संघर्ष गर्नुपर्छ । देशको विकास, आर्थिक सुधार र समृद्धिका लागि युवाहरुमा ‘मैले देश बनाउने हो, विदेश हैन’ भन्ने सोच आउनु अतिआवश्यक छ’, खातीले भन्नुभयो ।

‘म परिश्रममा विश्वास गर्छु । राम्रो परिश्रम गरे घरमै पैसा कमाउन सकिन्छ’, विदेश जाने युवाहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘देशमा परिश्रम गर्न रुचाउँदैनन्, देशमा कमाउने वातावरण छैन भन्छन, राम्रो काम पाइएन भन्छन तर विदेशमा उनीहरु जस्तो पायो त्यस्तो काम गर्छन ।’

विदेश जस्तो स्वदेशमा परिश्रम गरे दुःख पनि नपाइने र कमाई पनि राम्रो हुने उहाँको भनाई छ । ‘अलिअलि पैसा भए गाउँघर छाडेर बाहिरिन्छन । खेतबारी राम्ररी कमाउने गरेका छैनन् । साँझ बिहान काम छैन भनेर हल्लेर हिँडे पछि कसरी कमाई हुन्छ ?’, उहाँले भन्नुभयो, ‘मैले धेरै पढेलेखेको छु भन्ने सोचले ‘यस्तो काम गर्दिन’ भन्ने मानसिकता मनबाटै हटाउनु आवश्यक छ ।’

पढेलेखेका नागरिकले नै देशको कृषि क्षेत्रामा सुधार गर्नुपर्ने उहाँको तर्क छ । ‘हामी पढेलेखेको मानिसले कृषिको क्षेत्रमा पनि विभिन्न प्रविधिको ज्ञान सहजै पाउन सक्छौं । नयाँ–नयाँ पद्धतिको प्रयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न सकिन्छ’, खातीले भन्नुभयो, ‘तर यहाँ गरी खानेभन्दा पनि कामै नगर्नेको बाहूल्यता छ । यसरी देशको विकास र समृद्धि हुँदैन ।’

तीन तहको सरकार भएकाले युवाहरुको सक्रियताका लागि विशेष कार्यक्रम गरी व्यवसायिक रुपमा अघि बढ्न चाहने युवाहरुलाई सरकारले बिना झन्झट आर्थिक सहयोग गर्नु पर्ने उहाँको भनाई छ । एक वर्षअघि २ सय ५० कुखुराका चल्लाबाट सुरु गरेको खातीको पोल्ट्रिफर्ममा अहिले ८ सय चल्ला राखेका छन् ।

जिउँदो कुखुरालाई पोल्ट्रिफर्ममा प्रतिकिलो २ सय ४० मा बिक्रि गर्दै आएको उहाँले बताउनुभयो । आफूले थलारा गाउँपालिकाको खोलीमा पनि मासु पसल सञ्चालन गरेको बताउनुभयो ।

उहाँले पोल्ट्रिफर्ममा अरु दुईजनालाई समेत रोजगारी दिनुभएको छ । अहिले वार्षिक रुपमा झण्डै २–३ लाख चोखो बचत हुने गरेको बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया