इराक जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको विमानको फोटो कसले खिच्यो ?

 पुष १४, २०७५ शनिबार ७:५८:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको मौका पारेर इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकसँग भेटघाट गरे । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमबिना नै अचानक इराक पुगेका थिए । उनीसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि थिइन् । 

ट्रम्पलाई लिएर इराक जाँदै गरेको अमेरिकी एयर फोर्सको विमानको तस्बिर कसले कैद गर्यो भन्ने कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । ट्रम्पको एयरफोर्स वन विमान बुधबार शेफिल्डको आकाशमा उडिरहेका बेला कसैले आफ्नो क्यामेरामा तस्बिर कैद गर्न भ्याए । 

त्यसो त अमेरिकी राष्ट्रपतिको यात्राका बारेमा निकै नै गोपनीयता अपनाइन्छ । राष्ट्रपतिको सुरक्षालाई ध्यान दिँदै उनको भ्रमण तालिका नै अत्यन्त गोप्य राख्ने गरिन्छ । अझ इराकजस्तो युद्धग्रस्त क्षेत्रको भ्रमण त गोप्य नै हुनेभयो ।

इराक जाँदै गर्दा ट्रम्पको विमानको बत्तीसमेत निभाइएको बताइएको छ । आतंकवादी संगठनको निशानामा विमाना पर्न सक्छ भनेर नै कडा सुरक्षा अपनाइएको थियो । तर त्यति हुँदाहुँदै पनि शेफिल्डको आकाशमा उनको विमान उड्दै गर्दा कसैले तस्बिर खिच्न भ्याए । 

एलन मेलोय नामक व्यक्तिले यसको जानकारी सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु विमानलाई ट्रयाक गर्न सुरु गरे । धेरैले अनुमान लगाए, ट्रम्पको विमान युरोपको आकाश हुँदै कहाँ गैरहेको छ । आफैलाई एभियसन फोटोग्राफर बताउने मेलोय ट्रम्पको विमानको तस्बिर खिचेपछि यतिबेला निकै चर्चामा छन् । 

एयर फाेर्स वन विमानलाई राष्ट्रपति ट्रम्पको सुरक्षालाई मध्यनजर गर्दै VC-25  जहाजकाे कल साइन नै परिवर्तन गरिएको थियो ।

युद्धग्रस्त क्षेत्रको भ्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प मात्रै होइनन्, यसअघि पनि थुप्रै अमेरिकी राष्ट्रपति द्वन्द्वग्रस्त क्षेत्रको भ्रमणमा गएका छन् ।

तस्बिर सामाजिक सञ्जालमा राख्नेबित्तिकै मानिसहरु किन यति धेरै उत्सुक छन् भन्ने कुराले आफूलाई पनि घचघचाएको मेलोय बताउँछन् । मेलोय भन्छन्, ‘एकदमै सुन्दर थियो, सूर्यको प्रकाश भरपूर थियो, जब मैले आकाशतर्फ हेरेँ, आकाशमा उडिरहेको विमान सूर्यको प्रकाशले चम्किरहेको थियो ।’ मेलोयले आफूले संयोगवश त्यस विमानको तस्बिर खिच्न पुगेको बताउँछन् । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया