खेल्दाखेल्दैका क्रिकेट म्याचहरु राेक्नुपरेका विश्वका अनाैठा घटनाहरु

 माघ ९, २०७५ बुधबार १८:३९:१९ | एजेन्सी

खेलमैदानमा चलिरहेको क्रिकेट खेल जोरले पानी परेका कारणले वा प्रकाशकाे कमीका कारण रोकिएको त हामीले सुनेको छौँ । तर विश्वमा यस्ता कतिपय अचम्म लाग्दा घटनाहरु भएका छन्, जसले गर्दा चलिरहेको क्रिकेट खेल केही समयको लागि रोक्नुपरेको छ ।

फरक फरक समयमा विश्वका विभिन्न ठाउँमा घटेका यस्ता घटनाहरु यस्ता छन् :

आँखामा अस्ताउँदै गरेकाे सूर्यको किरण पर्दा 

भारतका ब्याट्सम्यान शिखर धवन आफ्नो आँखामा सूर्यको किरण पर्यो भन्दै खेल्न छोडेर मैदान बाहिर गएपछि खेल रोकिएको थियो । सूर्यको किरणले आँखामा समस्या ल्याएको भन्दै उनी मैदानबाहिर गएका थिए ।

याे घटना आज अर्थात जनवरी २३ तारिखकाे हाे ।

न्यूजिल्याण्डको म्याकलिन पार्कमा न्यूजिल्याण्ड र भारतबीच बुधबार भइरहेको त्यो खेलमा सूर्यका किरण आँखामा पर्दा खेल केही समयको लागि रोकिएको थियो । खेलका अम्पाएर साउन जर्जले यसलाई आफू अम्पाएरको काम गर्न थालेको १५ वर्षको अवधिमा भएको पहिलो र अनौठो घटना भनेका छन् । उनले ‘सन स्टप्ड प्ले, लभ इट’ भन्दै ट्विट पनि गरेका छन् ।

टोस्टको टुक्रा जल्दा

खेल जित्नको लागि मात्र १८ रन बाँकी थियो । क्वीन्सल्याण्ड विरुद्धको सेफिल्ड सिल्डको सन् २०१७–१८ को सिजनमा सोचेभन्दा पनि बढी आराम मिल्यो । अलान बोर्डरमा फाएर अलार्म बजेपछि न्यू साउथ वेल्सले ३० मिनेटको लागि ब्याटिङ गर्न नै रोकिदियो । अष्ट्रेलियाका स्पिनर नादन लीवनले टोस्टको टुक्रा जलाएपछि त्यसको बास्नाले गर्दा आगलागी भयो कि भन्दै दमकल खेल मैदानमा आएको थियो । पछि त्यहाँका अधिकारीहरुले खेल अगाडि बढाउन भनेपछि पुनः खेल सुरु भएको थियो । 

पिचमा कार गुडेपछि

एकजना मान्छे कारसहित क्रिकेट पिचमा छिरेपछि दिल्लीको उत्तरप्रदेशविरुद्ध भइरहेको रणजी ट्रफीकाे खेल बीचमै रोकियो । खेलाडी र अम्पाएरले रोक्न खोज्दा पनि ती मान्छेले कसैलाई मत्लब नै नगरी सिधै कारलाई पिचमा पुर्याए ।

केही महिना अगाडि भएको त्यो खेलमा उनले खेलमैदानमा कुनै पनि सुरक्षा व्यवस्था नभएको दावी गरेका थिए । तर त्यसले कुनै मानवीय र भौतिक क्षति भने गरेको थिएन ।

मैदानमा सर्प देखिँदा

सन् २००९ मा सिड्नीको ब्लयाक टाउनमा चलिरहेको एक खेल एउटा मरेको सर्प मैदानमा देखिदा २० मिनेटको लागि रोकिएको थियो । 

खेलाडीहरुलाई तर्साउनको लागि खेल सुरु हुनुभन्दा अगाडि बाहिरबाट दर्शकहरुले त्योे मरेको सर्पलाई मैदामा फालेको थियो ।

सँगुर मैदानमा आउँदा

सन् १८८९ मा वोर्सटर्सायर र डर्बिसायरबीचको खेलमा सुँगुर कुद्न थालेपछि खेल रोकिएको थियो ।यस्तै सन् १९८२ मा पनि सिड्नीमा चलिरहेको एक खेलमा खेलाडीहरुको नाम लेखिएको सुँगुर छोडिएको थियो । त्यो सुँगुरको एकापट्टी बोथाम र अर्कोपट्टी इडी लेखिएको थियो । इङ्ल्याण्डका खेलाडी बीफी बोथाम र इडी हेमिङ्ग्सलाई व्यङ्ग्य गर्दै त्यसरी सुँगुर छोडिएको अनुमान गरिएको थियो । 

हिउँ पर्दा खेल रोकियो

चिसो महिनामा हिउँ परेर खेल रोकिनु त सामान्य हो तर गर्मी महिना अर्थात जुनमा हिउँ परेर मैदान भरिँदा खेल सञ्चालन नहुनु दुर्लभ घटना मानिन्छ । यो घटना इङ्ल्याण्डमा सन् १९९७ जुन २  मा भएको थियो । 

मैदानमा जमेको करिव एक ईन्च बाक्लो हिउँका कारण चलिरहेको डर्वीसाएर च्याम्पियनशिप का कुनैपनि खेल सुचारु हुनसकेका थिएनन् ।

बल र विकेटको बियो (बेल) हराउँदा 

सन १९८१ मा भारत र इङ्ल्याण्डबीच दिल्लीमा भइरहेको एक म्याचमा अम्पाएरले बल राखेको दराजको साँचो हराउँदा केही समयको लागि खेल रोकिएको थियो ।

यस्तै सन् २००९ मा विकेटमाथि चढाइने बियो(बेल) हराउँदा चलिरहेको ग्लामोर्गान च्याम्पियनशिप खेलकोे तेस्रो दिन बेल नभेटाउँदा केही समयको लागि रोक्नुपरेको थियो । खेलमैदानका कर्मचारीहरुले मैदान सफा गर्दा बेल हराएको हुनसक्ने अनुमान गरिएको थियो ।

मैदानमा मुसा दौडिँदा खेल रोकियो

सन् १९५७ मा क्यान्टरबरिमा चलिरहेको एक खेलको बीचमा मुसा दौडिँदा खेल नै  रोकिएको थियो । मुसा समात्ने मान्छेले यसलाई पछ्याएर आफ्नो ह्याटमा पक्रेका थिए । यस्तै सन् १९६२ पाकिस्तान विरुद्धको लर्ड टेस्टमा पनि मुसा मैदानमा दौडिँदा खेल रोकिएको थियो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया