हिउँ छल्न ओडार पस्दा बाख्राकाे बगालसहित दुई गाेठाला पहिरोले पुरिए

 माघ १३, २०७५ आइतबार १४:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – हिउँबाट बच्नका लागि ओडारमा गएको बेला माथिबाट आएको पहिरोमा परेर दुई जना गोठालाहरु हराइरहेका छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका हुन् ।

लगातार हिउँ परेपछि हिउँबाट बच्न ओडारमा रातिसम्म बस्दा ओडार नै पहिरोले पुरेर हराएको स्थानीय शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो ।

पहिरोले पुरिएर हराइरहेकाहरुमा त्यसै गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ रहेका छन् । 

उनीहरुसँगै १ सय २० बाख्रा पनि ओडारमा रहेकाे र सबै पहिरोले पुरेर हराइरहेकोले हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । 

दुई दिनअघिदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकोले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो । 

गाउँमा कुहिरोसमेत लागेकोले केही समय ढिला भए पनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया