एक सातादेखि बेपता बालबालिका अझै भेटिएनन्

 फागुन १४, २०७५ मंगलबार ८:१३:१७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिकामा एक साताअघि हराएका बालबालिका अझै फेला परेका छैनन् । गएको फागुन ६ गते होस्टलबाट आमासँगै घर फर्कदै गरेका बालबालिका बेपत्ता भएका थिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका –७ मा रहेको एक होस्टलबाट घर जाने भनी हिँडेका बालबालिका र आमा घर नपुगेपछि खोजी गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेला परेको थियो । ११ वर्षीय छोरी ङिमाडोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गादोर्जी शेर्पा अझै बेपत्ता छन् । सोलुखुम्बु प्रहरीले खोजी जारी राखे पनि उनीहरु अझैसम्म फेला नपरेको डीएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

प्रहरीले आसपासका क्षेत्रमा खोजी गरिरहेको छ । दुधकोशी नदी मिसिने छिमेकी जिल्लाहरु ओखलढुंगा, खोटाङ र उदययपुरका प्रहरी युनिटलाई समेत खोजीका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । आमाको शव नदी किनारमा भेटिएको र बच्चाको कपडासमेत फेला परेकाले आमा मिङमा याङजी शेर्पाले बच्चासँगै आफू पनि खोलामा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

गएको फागुन ६ गते बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–७ मा होस्टलमा बसेर पढ्दै आएका कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमाडोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गादोर्जी शेर्पालाई ३६ वर्षीय आमा मिङ्मा याङजी शेर्पाले घर ल्याउन लागेकी थिइन् ।  मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङल्हामु गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया