भारतले गरेको आक्रमणबाट पाकिस्तानमा कति क्षति भयो ? के भन्छन् अन्तर्राष्ट्रिय मिडिया ?

 फागुन १८, २०७५ शनिबार ११:४२:७ | एजेन्सी
unn.prixa.net

भारतीय वायु सेनाकाे लडाकु विमान फाइल फोटाे

के भारतीय वायु सेनाको आक्रमणमा जैश–ए–मोहम्मदका तीन सय आतंकवादी मारिएका थिए ? भारतीय वायु सेनाका एयर भाइस मार्सल आर.जी.के. कपूरले बिहीबार नयाँ दिल्लीमा भएको एक पत्रकार सम्मलेनमा भने, ‘हामीलाई जे लक्ष्य दिइएको थियो, त्यो हामीले हासिल गर्यौँ । यो एक सफल मिसन थियो ।’

भारतीय मिडियाले एक प्रकारको प्रचारबाजी नै गर्ने गर्छ । त्यसैअनुरुप पाकिस्तानमा भारतीय वायु सेनाले गरेको आक्रमणका अनेक न्यारेटिभ बनाए भारतीय मिडियाले । 

केवल साढे दुई महिना न्यूज च्यानल नहेर्नूस् !

तर अन्तर्राष्ट्रिय मिडियाको र पाकिस्तानी नागरिकको कुरा भने अर्कै छ । प्रतिष्ठित समाचार एजेन्सी रोयटर्स र लोकप्रिय टेलिभिजन अल जजीराका संवाददाता घटनास्थलमै पुगेर रिपोर्टिङ गरेका थिए । उनीहरुका अनुसार बालाकोटको जाबा पहाडमा चारवटा बम चाहिँ खसेका थिए । तर ती बमबाट कुनै पनि मानवीय क्षति भने पुगेको छैन ।

अल जजीराका संवाददाताका अनुसार पहाडी इलाकामा भएको जैश–ए–मोहम्मदको शिविर जस्ताको त्यस्तै रहेको छ । उनीहरुको शिविरभन्दा निकै टाढा बम खसालिएको पनि अल जजीराले बताएको छ ।

अष्ट्रेलियाको इन्टरनेशलन साइबर पोलिसी सेन्टरले पनि प्लानेट ल्याब इंकबाट फेब्रुअरी २७ मा प्राप्त तस्बिरको अध्ययन गरेको छ । उसको अध्ययनअनुसार पनि भारतले खसालेको बमबाट केही क्षति भएको छैन । सेन्टरले बम खसालिएको पुष्टि गरे पनि ३०० जना मारिएको खबर झुटो रहेको दाबी गरेको छ ।

त्यस्तै सुरक्षा मामिलाको अमेरिकी थिङ्क ट्याङ्क एटलान्टिक काउन्सिलको डिजिटल फोरेन्सिक रिसर्च ल्याब(डीएफआर ल्याब) ले पनि स्याटेलाइट तस्बिरमार्फत बम कहाँ खस्यो भन्ने कुराको अध्ययन गरेको छ ।

डीएफआर ल्याबले त जैश–ए–मोहम्मदको अड्डाभन्दा धेरै पर बम किन खसालियो भनेर आश्चर्य प्रकट गरेको छ । उसले यो घटना निकै रहस्यमय पनि भएको जनाएको छ ।

बम खसाल्नुअघि  र खसालेपछि लिइएकाे जाबा क्षेत्रकाे स्याटेलाइट तस्बिर                     तस्बिर - आईसीपीसी

भारतीय वायु सेनाले बहादुरी देखाएर पाकिस्तानी सीमामा घुसे पनि आतंकवादी समूहमाथि कुनै आक्रमण नभएको र प्रचारबाजी मात्रै भएको स्थलगत रिपोर्टिङमा गएका पत्रकारहरुले जनाएका छन् ।

कस्तो बम खसालिएको थियो ?

डीएफआर ल्याबका अनुसार घटनास्थलको अवलोकन गर्दा भारतीय वायु सेनाले इजरायलमा निर्मित स्पाइस–२०० प्रिसिजन बम खसालेको थियो ।

यो बम खसाल्नुअघि यसमा अक्षांश र देशान्तरको सटिक जानकारी सेट गरिन्छ । यसले जीपीएस प्रणालीमा पनि काम गर्छ । यो बमलाई छोडेपछि यसको प्रणालीमा सेट गरिएको अक्षांश र रेखांशमै खस्छ । 

कति क्षति भयो ?

डीएफआर ल्याबले आफ्नो खोजमा भारतीय न्यूज एजेन्सीले सार्वजनिक गरेको जैश–ए–मोहम्मदको शिविरको मुख्य गेटको पनि उल्लेख गरेको छ ।

यो शिविरलाई ‘मदरासा तालिम–उल–कुरान’ का रुपमा चलाइने गरेको पनि बताइएको छ । यसको गेटमै रहेको गार्ड रुमको छत निलो रहेको पनि ल्याबले जनाएको छ । भारतीय वायु सेनाले फेब्रुअरी २६ मा आक्रमण गरेको थियो । त्यस दिनको भने स्याटेलाइट तस्बिर उपलब्ध हुन नसकेको ल्याबले जनाएको छ ।

के मदरासा साँच्चै ध्वस्त भएको थियो ?

अल जजीराले आफ्नो रिपोर्टमा बम खसालिएको ठाउँ सुनसान जंगल भएको बताएको थियो । त्यहाँ सल्लाको रुख ढलेको र केही चट्टान फुटेको अल जजीराले देखाएको थियो । यसैबीच पाकिस्तानले पर्यावरणीय आतंकवाद अन्तर्गत भारतले आफ्नो पर्यावरणमा क्षति पुर्याएको भन्दै संयुक्त राष्ट्र संघमा उजुरी हाल्ने भएको छ । 
स्याटेलाइटमार्फत लिइएकाे बम खसालिएकाे ठाउँकाे तस्बिर      तस्बिर - डीएफआर ल्याबबम खसालिएको ठाउँमा कुनै घर नभएको पनि अल जजीराले बताएको छ । अल जजीरासँग स्थानीय अस्पतालका मानिसहरुले बम लागेर कोही पनि उपचारका लागि नआएको बताएका छन् । 

घटनास्थल नजिकै बस्ने नूरन शाह बम पड्केको आवाज पछि बाहिर निस्किए । उनको टाउकोमा पत्थरको टुक्राले लाग्यो । उनलाई पनि सामान्य चोट मात्रै लाग्यो । 
रोयटर्सका रिपोर्टरले त्यहाँमा मानिससँग कुरा गरेका थिए । एक व्यक्तिले रोयटर्सका रिपोर्टरसँग कुरा गर्दै भने, ‘म यहीँ बस्छु, के तपाईँलाई म आतंकवादीजस्तो लाग्छ ?’

मदरसाको वास्तविकता

अल जजीराका अनुसार बम खसालिएको ठाउँ र ‘मदरसा तालिम–उल–कुरान’ झण्डै एक किलोमिटरको दूरीमा रहेको छ । मदरसा जाने सडकमै त्यसको बोर्ड झुण्ड्याइएको छ । बोर्डमा मदरसाका संस्थापक मौलाना मसूद अजहर र प्रशासक मोहम्मद युसुफ अजहर रहेको लेखिएको छ ।

अल जजीराका रिपोर्टरका अनुसार उनलाई मदरसासम्म जान भने दिइएन । तर वरिपरि रहेका स्थानीय नागरिकले भने त्यहाँ मुजाहिदीन बस्ने गरेको बताए । त्यहाँ हतियार चलाउने तालिम  तथा लडाकु तालिम पनि दिइने गरेको स्थानीयले बताए । तर कतिपयले भने त्यहाँ केवल मदरसा मात्रै भएको र कुरानको मात्रै तालिम दिने गरेको पनि बताए । उनीहरुले त्यहाँ हतियार चलाउने तालिम दिएको कहिल्यै पनि नदेखेको र नसुनेको बताए । 

केहीले भने गएको वर्ष अप्रिलमा मसूद अजहरका भाइ अब्दुल रउफ असगर त्यहाँ आएको बताएका थिए । कतिपयले पहिले त्यस ठाउँमा चरमपन्थीहरु बस्ने गरेको भए पनि अहिले भने नबसेका बताए । 

समाचार एजेन्सी रोयटर्सले आफ्नो रिपोर्टमा जाबा जंगलले भरिएको पहाडी इलाका भएको बताएको छ । त्यस्तै यो क्षेत्र एबोटाबादबाट झण्डै ६० किलोमिटर टाढा रहेको पनि उसले बताएको छ । स्थानीय नागरिकहरुका अनुसार यो क्षेत्रमा चार–पाँच सय नागरिकको आवादी रहेको छ । रोयटर्सका पत्रकारलाई पनि सैनिकले मदरसातर्फ भने जान दिएनन् । 

तर बाहिरबाटै पनि भारतले दाबी गरेजस्तो मदरसामा कुनै क्षति नपुगेका उनले बताए । रोयटर्सका संवाददाताले स्थानीय नागरिकलाई उद्धृत गर्दै भनेका छन्, ‘यहाँ कुनै मानवीय क्षति भएकौ छैन, तर केही सल्लाका रुख भने अवश्य मरेका छन् ।’

केही दिनअघि भारत प्रशासित जम्मू–कश्मीरको पुलवामामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि दुई देशबीच तनाव बढ्दै गएको छ ।

पछिल्ला केही दिन दुवै देशले एक अर्कामाथि हवाई आक्रमण गरेका थिए । भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले केही दिन कब्जामा राखेको थियो । 

शुक्रबार पाकिस्तानले आफू वार्ताबाटै समस्याको समाधान चाहेको भन्दै शान्तिको संकेतस्वरुप पाइलटलाई भारतलाई सुम्पिएको छ । यसले गर्दा पनि भारत–पाकिस्तानबीचको तनाव कम हुने आंकलन गर्न सकिन्छ ।

-एजेन्सीकाे सहयाेगमा
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया