च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।
यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताउनुभयो । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ ।
तयारी अवस्थामा रहेको चार मोटरेवल पुलको ढलान गर्ने काम हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । आयोजनाको काम एक महीनापछि धकेलिएको उहाँको भनाइ छ । जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदुर फर्किएको बताउनुभयो ।
विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँच स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् ।
बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा गएको पुस यता यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजर परिचालन गरेर हिउँ पन्छाएपछि कागबेनी–मुक्तिनाथ सडक खुलाइएको छ ।
चौरीगाई, भेँडा र च्याङ्ग्रालाई चरनको अभावले मर्न थालेका छन् । जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकी रेञ्जुर धनु गुरुङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।