साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

 फागुन २७, २०७५ सोमबार १४:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । 

विराटनगरमा आयोजित कार्यक्रममा महिला टिमका कप्तानहरुले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । सुरुमा सात टिमको सहभागिता रहने बताइए पनि अन्तिम समयमा पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो । जसका कारण साफ महिला च्याम्पियनिसपमा ६ टिमको सहभागीता रहेको छ । 

मंगलबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनाइएको छ । 

सोमबार ट्रफी सार्वजनिक कार्यक्रममा महिला टिमका प्रशिक्षकहरुले उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । बंगलादेश टिमका प्रशिक्षकले आफ्नो लक्ष्य उपाधि नै रहेको बताए । उनले नेपाल र भारत बलियो टिम रहेकाले आफूहरु पनि यसपटक राम्रो तयारीका साथ नेपाल आएको प्रतिक्रिया दिए । 

यस्तै भारतका प्रशिक्षक आफ्नो एकमात्र लक्ष्य उपाधि रहेको बताए । नेपालका प्रशिक्षक हरि खड्काले भारतमा भएको हिरो गोल्डकपमा नेपालले नतिजाले टिम नेपाली टिमको मनोबल उच्च रहेको र सो प्रतियोगिताले टिममा रहेका कमजोरीलाई औल्याउने मौका मिलेको पनि बताए ।

उनले पछिल्लो तीन साताको प्रशिक्षणले सबै कमजोरीलाई कम गरेको विश्वास व्यक्त गर्दै यस पटक उपाधि नेपालले जित्ने उल्लेख गरे । उनले टिमको लक्ष्य समूह चरणमा शीर्ष स्थानमा रहने रहेको पनि बताए । 

नेपाली टिम निकै ब्यालेन्स रहेको र सबैमा उपाधिको भोक रहेकाले उपाधि जित्नेमा विश्वस्त रहेको खड्काको भनाई थियो । नेपालकी कप्तान नीरु थापाले पनि आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताइन् । अघिल्लो संस्करणमा टिममा नरहेकी निरुले यसपटक टिमलाई सम्हाल्न अवसर र चुनौती दुवै रहेको बताइन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया