बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि जंगलमा सकुशल भेटिए

 फागुन २९, २०७५ बुधबार २०:०:२ | सुवास दर्नाल

सोलुखुम्बु – खोटाङको जंगलमा  बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल भेटिएका छन् । 

मंगलबार बिहान साढे १० बजे घरबाटै हराएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा हात्तीसार टोलका राजकुमार मगर र सपना मगरको छोरा एवान मगर बुधबार बिहान ९ बजे जंगलमा भेटिएका हुन् ।

घरबाटै बेपत्ता भएका हिँडडुल गर्न नसक्ने बालक घरभन्दा २ किलोमिटर टाढा पर्ने भस्लुङपाखामा सकुसश फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले बताउनुभयो । 

मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई शेषथुम्कीको पाखामा उत्तिसको घना जंगल र काँडाघारीभित्र चुथ्रोको फेदमा बसिरहेको अवस्थामा फेला पारिएको हो । चुथ्रोको फेदमा शान्तसँग बसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आफन्ततर्फ आएको शिक्षक राईले बताउनुभयो ।

हिँडडुल गर्न नसक्ने बालक घरभन्दा दुई किलोमिटर माथि जंगलको घारीमा भेटिएपछि स्थानीय सशंकित भएका छन् । बेपत्ता भएको बालक फेला परेपछि अभिभावक भने खुशी भएका छन् । बालक हराएपछि प्रहरीलाई समेत खबर गरिएको थियो । 

आमा कामका लागि बारीमा गएका बेला बालकलाई हजुरबाको हेरचाहमा छाडिएको थियो । हजुरबा काम विशेषले केहीछिन घरबाहिर गएर फर्कँदा बालक राखेको ठाउँबाट बेपत्ता भएको आफन्तको भनाइ छ । 

बालकको खोजीका लागि स्थानीयवासी परिचालित गरिएको थियो । बालक हराएको खबर आएपछि प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया