चैतभित्र विप्लव समूहका गतिविधिलाई नियन्त्रणमा लिइने प्रम ओलीकाे भनाई

 चैत ११, २०७५ सोमबार १५:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिनाभित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिइछाड्ने घोषणा गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्‍याउने, कम्युनिष्ट पार्टीको सरकारलाई असफल बनाउन कोशिश गर्ने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सह्य नहुने चेतावनी पनि दिनुभयो ।

सोमबार नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याइछाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यसका लागि सो समूहले हिंसा परित्याग नगरे सरकारले नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले आजै बस्ने मन्त्रीपरिषद बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका लागि सिफारिस समिति गठन गर्ने पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाइ भएको स्वीकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कनेबित्तिकै सो कामलाई पूर्णता दिने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले पार्टी संगठनहरुको एकीकरणको धेरै काम पूरा भएकाले पनि अब त्यसमा ढिलाइ नहुने पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sunil Dev Dhakal

    March 26, 2019, 9:03 a.m.

    नीजि स्कुलले चर्को भर्ना शुल्क घोषणा गरिसके, त्यता तिर ध्यान दिनुस न प्रधानमन्त्रीज्यू /

  •  0 Reply

तपाईको प्रतिक्रिया