परीक्षा हलमा चिट ल्याएकाे निहुँमा एसईई परीक्षार्थीलाई सुरक्षाकर्मीले कुटे

 चैत १५, २०७५ शुक्रबार २१:३:५३ | सुवास दर्नाल
unn.prixa.net

खोटाङ - खोटाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीलाई प्रहरीले शुक्रबार कुटपिट गरेका छन् ।

रावाबेशी गाउँपालिकाको देउराली उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका लकुमार श्रेष्ठलाई प्रहरी जवान रामबाबु यादवले कुटपिट गरेका हुन् । प्रहरीले परीक्षा केन्द्रभित्र चिट ल्याएको भन्दै कुटपिट गरेको पीडित श्रेष्ठले बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका १२ जालपाका लकुमार श्रेष्ठ शारदा माध्यमिक विद्यालय हौँचुरका छात्र हुन् । लुकाएर लगेको गेसपेपर प्रहरीले देखेपछि मागेको र गेसपेपर दिएपछि किन ल्याइस् भन्दै घोप्टो पर्न लगाएर लट्ठीले हानेको पीडित विद्यार्थीले बताएका छन् ।

परिक्षा केन्द्र सुरक्षाको लागि खटिएका प्रहरी जवान यादवले भने गल्ती स्विकार्दै माफी मागेका छन् । परिक्षा केन्द्र अध्यक्ष किशोर केसी, सुरक्षाकर्मी, पीडित बिद्यार्थी, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायत बुद्धिजीवी सम्मिलित बैठकमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका हुन् ।

परीक्षा केन्द्र सुरक्षाका लागि बसेको प्रहरीले विद्यार्थीमाथि हातपात गर्न नमिल्ने परीक्षा केन्द्रका अध्यक्ष किशोर केसीले बताउनुभयो । तर खोटाङका प्रहरी उपरीक्षक राजकुमार केसीले भने विद्यार्थी र प्रहरी शौचालय जाने क्रममा एक आपसमा ठोक्किएको र कुरा मिलिसकेको दाबी गर्नुभयो ।

पीडित विद्यार्थी अध्ययनरत शारदा मावि हौँचुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीले भने कुटपिटमा संलग्न प्रहरी जवान रामबाबु यादव र चौकीका असई लगायतले गल्ती स्वीकार गरेर माफी मागेपछि छाडेको बताउनुभयो ।

उहाँले प्रहरीको यस्तो हर्कतले विद्यार्थीलाई मानसिक तनाव हुने र सोचे जस्तो नतिजा नआउने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया