फोहोर बोकेको टिप्परको ठक्करबाट बालकको ज्यान गएपछि उपत्यकाको फोहोर विसर्जनमा अवरोध

 चैत २०, २०७५ बुधबार १२:१४:४७ | रासस
unn.prixa.net

नुवाकोट – टिप्परको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएको र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीन्दाले अवरोध पुर्‍याएका छन् ।

काठमाण्डौबाट फोहर बोकेर आइरहेको टिप्परको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको ज्यान गएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । यो घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीन्दाले पुर्‍याएको अवरोध बुधबार पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करिब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।

फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाण्डौबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापश्चात काठमाण्डौ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ । 

“कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिप्पर भएकाले समाधानका लागि यसै निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन सकेन”, पौडेलले भन्नुभयो । घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध पुर्‍याएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

विरोधमा उत्रिएका पीडितपक्षले काठमाण्डौको ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया