कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र

 चैत २४, २०७५ आइतबार ९:३२:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत – शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ ।

दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाण्डाै, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ । पानी बेलाबेलामा आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

“बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ”, प्रजिअ कार्कीले भन्नुभयो, “यद्यपि जनशक्ति र साधनको अभाव छैन ।” सो स्थानमा स्काभेटर सञ्चालन गाह्रो भएको जनाइएको छ । उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताउनुभयो ।

पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उहाँको गुनासो थियो । गाडी चालकले यात्रुलाई पनि ठग्ने गरेको कुरा पनि त्यत्तिकै बाहिर आएको छ । सडक अवरुद्ध भएको ठाउँमा पसल नभएकाले चाउचाउ बिस्कुट किन्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको यात्रु दलबहादुर थापाले दुखेसो गर्नुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ । डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराका अनुसार गगनेखोलाको पहिरोले वर्षेनी दुःख दिने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया