लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढेन

 चैत २४, २०७५ आइतबार ११:२२:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाण्डाै  उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको हो । अदालतको अर्को आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका अरु चार ठाउँका सडकजस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको छैन ।”

उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै यो सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको आयोजनाले जनाएको छ । पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

विद्युत्को पोललगायतका संरचना हटाउन नसकिएको उहाँले बताउनुभयो । त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । उहाँले भन्नुभयो, “सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ ।”

यो सडकको निर्माण विसं २०७३ जेठमा सुरु भएको थियो । पहिलोपटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । अहिले थपिएको अवधिमा काम अघि नबढेको उहाँले बताउनुभयो ।

ललितपुरमा पाँच सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ । उपत्यकाभित्र काठमाण्माण्डाैका पाँच र भक्तपुरको एक सडकमा विस्तारको काम सुरु भएको थियो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया