च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
जुम्ला – चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।
जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको दूरीमा पर्छ, आन्तरिक तथा बाह्य पर्यटक फूल हेर्न जान्छन्, चुँडेर लैजान्छन्”, उहाँले भन्नुभयो, “बर्सेनि फूल चुँडेर ल्याउँदा लालीगुराँसको बोट नै सङ्कटमा परेको छ, राष्ट्रिय फूल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको हो ।”
उहाँका अनुसार फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो । उहाँले राष्ट्रिय फूल लालीगुराँसले वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फूल चुँड्न नपाउने गरी प्रतिबन्ध लगाएको बताउनुभयो ।
उहाँले भन्नुभयोे, “उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरी फूल टिप्न प्रतिबन्ध लगाएको हो । वन क्षेत्रमा अहिले गुराँस फुल्ने समय सुरु भएको छ । फुलेका गुराँसको सौन्दर्य हेर्न जानेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र सौन्दर्य गुम्ने खतरा बढ्यो । त्यसैले जङ्गलमा जानेले लालीगुराँस चुँड्न पाउने छैनन् । वनमा लालीगुराँस भएको ठाउँमा गएर फोटो खिच्न पाउँछन् । तर चुँडेर ल्याउन पाउने छैनन् । वन उपभोक्ता समिति लालीगुराँस संरक्षणमा जुटिसकेको छ ।”
अध्यक्ष सार्कीले गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिनुभयो । “गुराँस हेर्न मात्र पाइने, टिप्न नपाइने नियम बनाएका छौँ”, सार्कीले भन्नुभयो, “फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वनको संरक्षणमा सहयोग पुग्ने भएको छ ।” यतिबेला जुम्लाका वनमा गुराँस फुलेकाले वनपाखा राताम्मे भएका छन् । बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ ।
शुक्रबार र शनिबार ढाणथपला वनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भीड लाग्छ । फूलको थुँगा टपक्क टिपेर शीरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन् । हिजोआज ढाणथपला वनमा गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन् । कर्णाली प्राविधिक शिक्षालय पनि सो वनक्षेत्रमै पर्ने भएकाले त्यो क्षेत्र अहिले निकै चर्चामा छ । लालीगुराँस राष्ट्रिय फूल भएकाले फूलको सम्मान गर्न सबैले जान्नुपर्नेमा जोेड दिइएको छ । जुम्लामा रातो र सेतो दुवै प्रकारको गुराँस पाइन्छ । जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ । यो समयमा विद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जङ्गल पुग्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।