पोखराबाट 'नेपाल भ्रमण वर्ष २०२०' काे सुरुवात गरिने

 चैत २५, २०७५ सोमबार १६:५७:५१ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले पोखराबाट 'नेपाल भ्रमण वर्ष २०२०' को पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ ।
    
नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको सुरुवात गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमण वर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको सुरुवाति कार्यक्रम घोषणा गरिने मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
    
भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक सुरुवात गरिने पनि उहाँले उल्लेख गर्नुभयो । भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूल आयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त हुनुभएको थियो । 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गएकाे फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो । अहिले पर्यटन मन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिनुभएको छ ।  
    
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु अब २०७५/७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो । उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो । 

नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया