नेपाली कामदारको अवस्था बुझ्न सरकारी टोली यूएईमा

 चैत २५, २०७५ सोमबार १७:५६:४७ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कार्यरत नेपाली कामदारको अवस्थाबारे अध्ययन गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, र वैदेशिक रोजगार विभागको टोली यूएई आएको छ । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, बोर्डका उपसचिव ऋषिराम भुसाल र लेखा अधिकृत नारायणप्रसाद दाहाल, श्रम मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थी र वैदेशिक रोजगार विभागका कम्युटर इञ्जिनियर राजु श्रेष्ठ सोमबार बिहान यूएई आइपुग्नुभएको हो । 

टोलीले सोमबार नै इमिरेट्स फ्लाइट क्याटरिङ्ग कम्पनीमा कार्यरत नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरेको छ । यस्तै टोलीले यूएईका विभिन्न कम्पनीमा पुगेर त्यहाँ कार्यरत नेपाली कामदारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरुको अवस्था बुझ्ने नेपाली दूतावास यूएईले जनाएको छ । 

यस्तै नेपाली दूतावासमा प्रविधिको प्रयोगबारे पनि छलफल गर्ने र त्यसलाई थप प्रभावकारी बनाउने विषयमा पनि टोलीले दूतावासमै छलफल गर्नेछ । 

अहिले दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्ने र त्यसलाई अनलाइनमा राख्ने लगायतका काम भइरहेको छ । ‘दूतावासमा प्रयोग भएको आईटी प्रविधिको बारेमा टोलीले छलफल गर्नेछ र अहिले भइरहेको कामलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ, ’ दूतावासका प्रवक्ता सागरप्रसाद फुयाँलले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया