हिजो पैसा खाएर जसले लोडसेडिङ गराए, सबैको छानबिन भैरहेको छ, कारबाही गरिन्छ

 चैत २५, २०७५ सोमबार २०:३७:१८ | कुलमान घिसिङ
unn.prixa.net

विगतमा दिनमा १८ घण्टासम्म भएको लोडसेडिङको अन्त्य गरेबापत नागरिकबाट हामीले धन्यवाद पाइरहेका छौँ ।

नागरिकले हामीलाई थप काम गर्ने उर्जा दिइरहेका छन्, हामीप्रति नागरिकले गरेको भरोसा देखेर हामीलाई काम गर्ने थप जाँगर पैदा हुन्छ । नागरिकलाई खुसी बनाएर काम गर्न पाउँदा प्राधिकरणका सबै कर्मचारीसहित हामीलाई पनि खुब खुसी लाग्छ । 

तर हामीले नागरिकको हितमा गरेका राम्रा काम सबै व्यक्तिलाई नपच्ने रहेछ । नेपाललाई लोडसेडिङमुक्त गराएबपात हामीलाई बेला–बेलामा अनेक हिसाबले प्रहार हुँदै आएको छ । पछिल्लो समय पनि ट्रेड युुनियन खारेज गरेको, ६० लाख रुपैयाँ भत्ता लिएको लगायतका अनेकौँ आरोप आएका छन् ।

आरोप यसरी आउन थाले कि हामीलाई काम गर्न डिस्टर्ब नै हुन थाल्यो । यस्ता नचाहिने आरोपको पछि लागिरहने फुर्सद हामीलाई छैन । हामीले दिनरात नभनीकन काम गर्नुपर्ने छ । तर हामी चुप बस्दा गलत कुरा फैलाएर देशलाई फेरि लोडसेडिङमा धकेल्नेहरु बलिया हुने देखिए । त्यसैले यसको बारेमा मैले यथार्थ भन्नेपर्ने हुन्छ । 

मैले कार्यकाल सम्हालेदेखि लोडसेडिङ अन्त्य गर्ने, विद्युत प्राधिकरणको आर्थिक अवस्था सुधार्ने र सेवा प्रवाह चुस्त बनाउने कुरामा जोड दिइरहेको छु । त्यसैअनुसार काम पनि भैरहेको छ । मसहित प्राधिकरणका कर्मचारी दिनरात खटिएकै कारण हामीले देशलाई उज्यालो बनाउन सफल भएका छौँ । नेपालमा सर्वसाधारणको घरबाट मात्र होइन, उद्योग धन्दाबाट पनि हामीले लोडसेडिङ अन्त्य गराएका छौँ ।

तर प्राविधिक कारणले कतै–कतै बिजुली अनियमित भएको हुन सक्छ, हामी सुधारको चरणमा छौँ ।  हामीले यो वर्ष मात्रै ५०/६० वटा सवस्टेशन चार्ज गर्यौँ, त्यो पनि क्वालिटीको लागि नै गरिएको हो । अब ३ हजार मेगावाटको माग भए पनि ती सवस्टेशनले धान्न सक्छन् । यस्तै त्रिशूली थ्री ए, कुलेखानीलगायतका आयोजना पनि आउँदो १/२ महिनामै पूरा हुन्छन् । 

तर हामीले यति धेरै काम गर्दा पनि केही समूह, व्यक्ति र मिडिया हामीलाई प्रहार गर्ने योजना बनाएका छन् । प्रहार गरिरहेका छन् । हाम्रो काम नागरिकले मुल्यांकन गरिरहेका छन्, तर नागरिकमा भ्रम फैलाएर फेरि पनि हिजोकै अँध्यारो अवस्था फर्काउन चाहनेहरु सक्रिय भएका छन् । 

प्राधिकरणले लोडसेडिङ अन्त्यसँगै हिजोको घाटाको अवस्था सुधार गरेर नाफा कमाउन सफल भयो । यो पनि केही व्यक्तिलाई मन परेन । सरकारले अनुदान दिएर नाफा भएको हो भन्दै भ्रम फैलाइरहेका छन् । लोडसेडिङ अन्त्य र नाफा उनीहरुलाई मन परेको छैन । प्राधिकरण नाफामा हुँदा उनीहरु दुःखमा छन् ।

हुँदा–हुँदा मलाई मिटिङ भत्ता नै ६० लाख रुपैयाँ बुझ्यो रे भन्ने प्रचार पनि गरियो । भत्तामा मात्रै ६० लाख बुझ्ने एमडी त भाग्यमानी नै हुनुपर्छ । दिनमा १३ वटा मिटिङ राखेर पैसा खायो रे भन्ने पनि सुनियो । सम्भव छ यो कुरा ?

जो व्यक्ति हिजो लोडसेडिङका कारक थिए, उनीहरुको उस्काहटमा प्राधिकरणभित्रका केही व्यक्तिले काममा अवरोध गरिरहेका छन् । जसको निर्देशनमा सीमित व्यक्तिलाई मनग्य बिजुली दिएर बाँकी नेपाल अँध्यारो बनाइयो, प्राधिकरणलाई नौ अर्ब रुपैयाँ घाटामा पुर्‍याइयो, उनीहरुले अहिले प्राधिकरणका केही व्यक्तिको सहारा लिएर फेरि देश अँध्यारो बनाउन सकिन्छ कि भन्ने सोचका साथ अवरोधको प्रयास गरिरहेका छन् । प्राधिकरण नाफामा गएको कुरा उनीहरुलाई पचेकै छैन ।

अहिले पनि प्राधिकरण घाटामा छ भनेर पाँचौ तहको कर्मचारीले हल्ला फैलाएछ । प्राधिकरण घाटामा छ कि नाफामा छ, रकम तलमाथि भयो भएन भन्ने कुरा राजनीति गर्ने पाँचौँ तहको कर्मचारीले थाहा पाउँछ कि हाम्रा चार्टड एकाउन्टेन्ट र यहाँको पुरै कर्मचारी टिमले थाहा पाउँछ ?

यहाँ ट्रेड युनियनको कुरालाई जोडेर प्रहार भैरहेको छ । हो, २ वर्ष भएपछि ट्रेड युनियनको चुनाव हुनुपर्छ । मैले फागुनमै युनियनको चुनाव गराउँ भनेकै हो । तर व्यवस्थापनलाई अनेक–अनेक आरोप लगाएर चुनाव गराइएन । चुनाव नभएपछि यहाँ आधिकारिक ट्रेड युनियन नै छैन भनेको हो । यसैको रिस फेर्न पाँचौँ तहका कर्मचारीले बोर्ड मिडिङमा हुँदै नभएका कुरा मिडियालाई दिएर हामीलाई कमजोर र असफल गराउने प्रयास गरे । हिजो प्राधिकरणलाई संकटमा राखेर खेल्ने/रमाउनेहरुले  अहिले त्यो अवस्था नपाएपछि अहिले छटपटिएका छन्, त्यसेको रिस साँध्न केही व्यक्ति र मिडिया प्रयोग गरिएको हो । 

हाम्रा केही साथीहरु बिहान ७ देखि राति ९ बजेसम्म काम गर्छन् । उनीहरुकै कारण प्राधिकरण उँभो लागेको छ । तर केही कर्मचारीलाई भड्काएर यहाँ फेरि पनि पहिलेजस्तो लुट्न पाइन्छ कि भन्ने शक्ति लागिरहेको छ । बाह्य शक्तिलाई सहयोग गर्ने विद्युत प्राधिकरणका केही कर्मचारीमाथि हामीले  गहिरो अध्ययन गरिरहेका छौँ ।

हुँदा–हुँदा मलाई मिटिङ भत्ता नै ६० लाख रुपैयाँ बुझ्यो रे भन्ने प्रचार पनि गरियो । भत्तामा मात्रै ६० लाख बुझ्ने एमडी त भाग्यमानी नै हुनुपर्छ । दिनमा १३ वटा मिटिङ राखेर पैसा खायो रे भन्ने पनि सुनियो । सम्भव छ यो कुरा ?

आरोप लागेपछि मैले मेरो अकाउन्ट हेरेँ, बैठक भत्तालगायतका सबै भत्ता गरेर ६ लाख रुपैयाँ मात्रै बुझेको रहेछु । त्यसलाई ६० लाख पो बनाइदिएछन् । मेरो इन्सेन्टिभलाई पनि भत्ता नै बनादिएछन । भोलि तलबलाई पनि बैठक भत्ता बनाइदिने होलान् । मैले त नेपाल सरकारसँग कार्यसम्पादन सम्झौता गरेर आएको छु, यति सफलता हात पारे यति इन्सेन्टिभ पाउने भन्ने त करार सम्झौतामै उल्लेख छ नि  । 

एकजना पाँचौ तहका कर्मचारीले हाम्रो बोर्डमा भएका कुरा मिडियामा गलत ढंगले टिपाएछन् । जसको हस्ताक्षर गर्ने अधिकार पनि छैन, उसले मिडियामा यहाँ हुँदै नभएका कुरा बोर्ड मिटिङले यस्तो निर्णय गर्‍यो भन्दै हल्ला गर्दै हिँडेछन् । र उनी कोबाट सञ्चालित छन् भन्ने कुरा पनि मलाई थाहा छ । ट्रेड युनियनको चुनाव आफै सार्ने, अनि मैले अस्तित्वमै छैन भन्दिएपछि नभएका कुरा गर्दै साँढे बनेर हिँड्न पाइन्छ ?

कुलमान घिसिङ भन्छन् : लोडसेडिङ ब्युँताउने खेल सुरु भो, हामीलाई डिस्टर्ब भैरहेको छ

प्राधिकरण हिजो किन घाटामा गयो भन्ने कुरा प्रष्ट छ, यस्तै मान्छेहरुको हर्कतले नै हो । हिजो विद्युत कर्मचारी कठपुतली थिए, सयौँ घुस्याहाबाट घेरिएका थिए, काम गरेनन्, उनीहरुले अहिले पनि त्यही चाहेका छन् । उनीहरु अहिले प्राधिकरण सुध्रेको छट्पटिएका छन् । नत्र हामीले राम्रो गरेको उनीहरुलाई किन पच्दैन ? अहिले जस -जसलाई कारबाही भएको छ, उनीहरु हिजोको ठूला मान्छेका नजिकका हुन् । 

हिजो प्राधिकरण ध्वस्त त बनाइसकेका थिए, जुन बच्यो, त्यो पनि  सिध्याउने ? तर अब त्यस्ता हर्कत सफल हुन दिइन्न । हिजोको जस्तो कमजोर एमडी होइन । चेन अफ् कमान्डलाई लागु गरिन्छ । योभित्र भएका विकृतिलाई समाप्त गरेरै छाडिन्छ । कोही बाधक बन्न आयो भने बाटो खाली गरिन्छ । 

हिजो कहाँ–कहाँबाट के–के गरेको छ भन्ने प्रमाण छ । त्यही मान्छेले अझै पनि यहाँभित्र खेल्न खोज्ने, दशथरी कुरा गर्दै हिँड्ने ? धेरै आन्तरिक जानकारी मैले लिइरहेको छु ।

मलाई उद्योगीसँग पैसा खायो भनेर आरोप लगाउनेहरुले हिजो के–के गरेका थिए भन्ने सबै थाहा छ ।  दादागिरी गर्‍यो भने जो पनि कारबाहीको भागिदार हुनुपर्छ । समय आएमा हिजो छेलोखेलो गरेर लोडसेडिङ गर्नेहरुको नाम र हर्कत सार्वजनिक गरिन्छ ।

(नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा सोमबार गरेको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको सम्पादित अंश)


 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

कुलमान घिसिङ

घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया