आईएसले युरोपमा खतरनाक आक्रमणको तयारी गर्दैछ : रिपोर्ट

 बैशाख २, २०७६ सोमबार २०:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इस्लामिक स्टेट (आईएस) आतंकवादी समूह युरोपको पेरिसमा चार वर्षअघि गराएको आत्मघाती हमला दोहोर्‍याउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक बेलायती अखबारले आफ्नो रिपोर्टमा यो कुराको खुलाशा गरेको हो । 

पेरिसमा सन् २०१५ नोभेम्बरमा कन्सर्ट हल, स्टेडियमको बाहिर, रेस्टुरेण्ट र बारमा फायरिङ्ग र आत्मघाती विस्फोटको सिरिजमा परि झण्डै १ सय ३० ले ज्यान गुमाएका थिए । 

'द सन्डे टाइम्स' अखबारले आईएसले युरोप र मध्य एसियामा आतंकवादी हमलाको योजना बनाएको खुलाशा गरेको हो । पेरिसमा जस्तै हमला दोहोर्‍याउनका लागि सक्रिय भएको आईएस अहिले योजना बनाइरहेको अखबारले दाबी गरेको छ । 

अखबारका अनुसार, यो वर्षको सुरुमा सिरियामा आईएसविरुद्ध निर्णायक लडाइँको दौरान उसका एक सदस्यको खल्तीबाट खसेको हार्ड ड्राइभमा युरोपमा हमला गर्ने पूरा योजना पाइएको थियो । 

यी दस्ताबेजमा आईएसको ‘खलीफा’ अबू बकर अल–बगदादी र त्यसपछि दोस्रो नम्बरको हैसियत राख्ने एक व्यक्तिसँग सम्बन्धित पत्र छ, जसमा आईएसका ७ नेताहरुले हस्ताक्षर गरेका छन् । यो पत्रमा युरोप हमलाको पूरा योजनालाई दुई भागः अपरेसन्स अब्रोड र आपरेसन्स बोर्डरमा बाँडिएको छ । 

अपरेसन्स अब्रोडको जिम्मेवारी अबू खबाब अल–मुहाजिरलाई दिइएको छ । यो दस्ताबेजसँगै यूरोपमा आईएसका एक समर्थकको तस्बिर पनि दिइएको छ, जसले यो अपरेशनलाई पूरा गर्न मद्दत गर्नेछन् । 

यस्तो छ योजना

आईएसको योजनामा बैंक लुटेर आर्थिक सहयोग जुटाउने, सीमावर्ती क्षेत्रमा आतंकवादी हमला गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई निशाना बनाउनु, आत्मघाती हमला गर्नु, भिडमा वाहन छोड्ने र कम्प्युटर ह्याक गर्नेजस्ता योजना रहेका छन् । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया