च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ ।
उहाँले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताउनुभएको छ ।
“यस ढोकाबाट विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ”, शिक्षामन्त्रीको अपिलमा भनिएको छ ।
यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको बताउनुभयो ।
विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रूपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रूपमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ । शैक्षिकसत्र २०७६ का लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पुर्याऔँ’ भन्ने आदर्श वाक्य चयन गरी सोमबारबाट भर्ना अभियान २०७६ सुरु भइसकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस्तै हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रूपमा मनाउने निर्णय पनि गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।