धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला नि !

 बैशाख ३, २०७६ मंगलबार १६:४७:१५ | रासस

काठमाण्डाै - तपाईँ कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाण्डाै उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।

कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरिद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

'बढी महत्वकांक्षा राखेर छिटो आर्थिक उपार्जन गर्न खोज्दा फसेको पाइयो, कुनै असामान्य क्रियाकलाप देखियो र सस्तो मूल्यमा सामान बिक्री गर्न खोजेको पाइयो भने होसियार हुनुहोस्, प्रहरीलाई तुरुन्त खबर गर्न नभुल्नुहोला', सिंहले सबैलाई आग्रह गर्नुभयो ।

रातारात धनी बन्ने सपनामा सुनको टुक्रा किन्न खोज्दा फलामको टुक्रा किनेर लाखौँ रुपैयाँ गुमाएका एक व्यक्ति अहिले प्रहरीको शरणमा पुगेका छन् । सुन भनेर फलामको टुक्रा किनेका काठमाण्डाैका राजेश विक १९ लाख ठगीमा परेका छन् । यद्यपि ठगीका गिरोह पक्राउ गरिरसकेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । 

विकले सामाखुशीस्थित रानीबारीमा गएको पुसमा सुनको टुक्रा भनेर १९ लाख रुपैयाँमा खरिद गरे । फलामको टुक्रालाई सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरेर आकर्षक तरिकाले राखेको अवस्थामा उहाँले किन्नुभएको थियो । पछि खोलेर हेर्दा चार वटा फलामको टुक्रा भेटिएपछि मात्रै ठगीमा परेकोे चाल पाउनुभयो । उहाँको उजुरीकै आधारमा खोजी गर्दा वैशख १ गते ठगी गर्ने व्यक्ति सुन्धाराबाट पक्राउ परेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ परेका उनीहरुले ठगेको पैसा विभिन्न व्यक्ति मिली बाँडेर खाएको पाइएकाले रकम फिर्ता ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङले नौ लाख ५० हजार र काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठले  तीन लाख ५० हजार, प्रवीन श्रेष्ठले तीन लाख, सुवास श्रेष्ठले  तीन लाख बाँडेर लिएका थिए । उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै महंगोमा डलर साट्न पाइने लोभमा समेत सर्वसाधारण ठगीमा परेको अर्काे उदाहरण छ । ठगीका गिरोहले काठमाण्डाैको नयाँ बसपार्क, बालाजू, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकालाई डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने लोभ देखाइ ठगी गर्ने गिरोहसमेत पक्राउ परेका छन् । 

उनीहरुले बीचमा कागज राखी अगाडि र पछाडि सक्कली पैसा राखेर ठगेको अनुसन्धानमा खुलेको छ । ठगीमा एकै परिवारका दाजुभाइ संलग्न छन् । उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखेर भित्र कागज राखी ठग्ने गरेका थिए । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङले स्वयम्भूबाट पाँच तोलाको औँठी, सामाखुशीबाट ४६ हजार रुपैयाँ, गौशालाबाट चार लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । 

लुटेरा र चोर पक्राउ

महानगरीय प्रहरी परिसर काठमाण्डाैले लुटपाटमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । परिसरले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी बरामद सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीहारीका दीपकप्रसाद जैसवाल, बैसालीका बिजु साह र सितामढीका राजकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट क्यामरा नौ थान, मोबाइल १० थान, घडी नौ थान, मनी पर्स सात थान, क्यामरा एक, एउटा मिनी प्रोजेक्टर, जेनेरेटर र नगद रु एक लाख ९८ हजार बरामद भएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका मानिसलाई पिछा गर्ने र सामान लुट्ने गरेको खुल्न आएको छ । 

यसैबीच नागार्जुन नगरपालिका–९ दुर्गा नगर कोलेनीस्थित चोरी गरेर भाग्दै गर्ने दोलखा घर भई काठमाण्डाै –१४ कलङ्की बस्ने सुनिल श्रेष्ठ र सोही ठाउँका अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुले स्थानीय तर्कबहादुर कुँवरको घरको तेस्रो तलाको ताल्चा फुटाएर पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुबाट मोबाइलसहित २८ हजार नगद र ताल्चा फुटाउन प्रयोग भएको फलामे रड बरामद भएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया