'उपत्यकामा बन्दको प्रभाव छैन’

 बैशाख ५, २०७६ बिहिबार १३:५०:११ | रासस
unn.prixa.net

काठमाण्डाै - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाण्डाै उपत्यकामा भने खासै प्रभाव परेको छैन । 

काठमाण्डाै उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले काठमाण्डाै,  ललितपुर र भक्तपुर जिल्लाको सवारी आवागमन सहज रहेको जानकारी दिनुभयो । 'उपत्यकामा बन्दको प्रभाव छैन, यद्यपि विभिन्न नाकाबाट बाहिर जाने र भित्रिने सवारीको सङ्ख्यामा भने कमी छ', ज्ञवालीले भन्नुभयो ।

उपत्यकामा अहिलेसम्म कुनै घटनासमेत नभएको र सुरक्षा व्यवस्था कडा पारी सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । शङ्कास्पद क्षेत्रमा गस्ती बढाइएको जनाइएको छ । काठमाण्डाै जिल्लामा भने साविकझैँ सवारी सञ्चालनमा रहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

विभिन्न जिल्लामा भने बन्दको प्रभाव देखिएको र ठाउँठाउँमा नक्कली बम, शङ्कास्पद वस्तु भेटिएको तथा गाडी तोडफोड र आगजनी भएको जानकारी आए पनि विस्तृत विवरण आइनसकेको नेपाल प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

बन्दले विभिन्न राजमार्ग भने सुनसान देखिएका छन् । जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा पारिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया