सरकारी जग्गा कब्जा गर्ने माथि छानबिन हुनुपर्छ – नेता सिंह

 बैशाख १७, २०७६ मंगलबार १०:३७:१४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — नेपाली कांग्रेसका नेता, पूर्व उपप्रधानमन्त्री तथा माननीय प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने माथि छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्नेहरु जोसुकै भए पनि छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । 

अहिलेका सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको समेत नेता सिंहले आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो ‘वर्तमान नेकपा सरकारले शान्ति सुरक्षा दिन नसकेको अनुभूति भएको छ । निर्मलाहत्या काण्डदेखि सुन तस्करीलगायतका धेरै वटा काण्डमा सरकारले पारदर्शी काम गर्न सकेको छैन ।’ 

नेता सिंहले सरकार संविधान अनुसार नचलेको पनि आरोप लगाउनुभयो । उहाँले यो सरकारले सिंगो प्रेस स्वतन्त्रताको खिल्ली उडाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘वर्तमान सरकारले समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ गर्ने र विभिन्न बाहानाबाजी बनाएर जेल हाल्ने गरिरहेको छ । विभिन्न बाहानामा पत्रकारहरुलाई लोभ्याउने भनेको नमानेको खण्डमा तर्साउने काम गरिरहेको छ ।’ नेता सिंहले विकास र समृद्धि नारामा मात्रै सीमित रहेको बतानुभयो । 

पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा निस्कनु भएका नेता सिंहको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाईं, पूर्वमन्त्रीहरु हृदयराम थामी, राजेन्द्र केसी, तारामान गुरुङ, दीपक खड्कासहित खोटाङ, काठमाण्डौ, भोजपुर, मोरङ र पाँचथरलागयत कांग्रेस पार्टी जिल्ला सभापतिहरुको समेत सहभागिता रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया