विश्वकप फुटबल: लयमा रहेको क्रोएसिया र गतिशील डेनमार्क

 असार १७, २०७५ आइतबार १५:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा क्रोएसिया लयमा रहेको टोली हो । समूह चरणमा अर्जेन्टिनालाई ३–० गोलले हराएर सनसनी मच्चाएको क्रोएसिया समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो र उसले क्वार्टरफाइनल प्रवेशका लागि आज तुलनात्मक रुपमा कमजोर मानिएको डेनमार्कसँग निज्नी नोभगोरोड रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।
 फ्रान्स रहेको समूह सीबाट उपविजेता बनेको डेनमार्क समूह चरणमा अविजित रह्यो । 

उसले पेरुलाई हराएको थियो भने अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो । फ्रान्ससँगको गोलरहित बराबरी त विश्वकप समूह चरणकै एकमात्र हो ।

बार्सिलोनाका स्टार मिडफिल्डर इभान राकिटिच सजग छन् कि उनीहरुको विश्व विजेता बन्ने यात्रामा डेनमार्क र उसका स्टार क्रिष्टियन इरिक्सन बाधक बन्न सक्छन् ।
 

अर्जेन्टिनालाई समूह चरणमा हराएको ज्लात्को ड्यालिकको टोली क्रोएसिया प्रिक्वार्टरफाइनलमा डेनमार्कको चुनौती पन्छाउने लक्ष्यसहित निज्नी नोभगोरोड रंगशालामा फर्किएको छ ।
 
यो खेलमा क्रोएसिया बलियो देखिन्छ । उसले समूह चरणमा शतप्रतिशत नतिजा निकालेको थियो ।
 
टोटनह्याम स्टार इरिक्सन फ्रान्ससँग बराबरीपछि निराश छन् । जसका कारण उनीहरु समूह उपविजेतामा धकेलिएका थिए । 

यद्यपी उनले अष्ट्रेलियाविरुद्ध १–१ को बराबरी भएको खेलमा शानदार गोल गरेका थिए ।
 
राकिटिचले भनेका छन्, डेनमार्कको मिडफिल्डमा एक अदभूत खेलाडी छन्, यदि क्रोएसिया अगाडि बढ्न चाहन्छ भने उनलाई रोक्नु अपरिहार्य छ ।
 
‘उनी निक्कै चुस्त छन्, उनले विपक्षीलाई कसरी रोक्नुपर्छ भन्ने बुझेका छन् ।’ राकिटिचले भने, ‘उनीहरु विपक्षीलाई आक्रमणका लागि निकै थोरै अवसर दिन्छन्, र आफूले चाहीँ धेरै भन्दा धेरै आक्रमणका अवसरहरु सृजना गर्छन् । 

उनीहरुसँग इरिक्सन् छन्, जो युरोपकै सर्वश्रेष्ठ खेलाडी मध्येका एक हुन् ।’
 
डेनमार्कले समूह चरणमा एक खेलमात्र जितेको थियो । उसले पेरुलाई १–० गोलले हराएको थियो । यद्यपी डेनमार्क जारी विश्वकपमा सबैभन्दा गतिशील टिम बनेको छ । अष्ट्रेलियाविरुद्धको बराबरी खेलमा पेनाल्टीलाई छाडेर उसले गोल खाएको छैन ।
 
डेनिस मिडफिल्डर थोमस डेलाने विश्वस्त छन् कि इरिक्सन क्रोएसियाविरुद्धको खेलमा बलियो आक्रमण गर्न आफ्ना टिममेटलाई प्रेरित गर्नेछन् ।

यद्यपी फ्रान्ससँगको खेलमा उनी फ्रान्सेली डिफेण्डरको घेरामा परेपछि त्यो जिम्मा अन्य खेलाडीले लिनुपर्थ्यो, त्यसो हुन सकेन ।
 
‘क्रिष्टियनले राम्रो खेल्नका लागि, हामीले एउटा निश्चित तरिकाबाट खेल्न जरुरी छ ।’ उनले फिफा टिभीसँग भने, ‘हामीले पहिले नै निर्णय गरेका थियौं कि हामी फ्रान्सविरुद्ध गुणात्मक फुटबल खेल्नेछौं, जहाँ उनीहरुले इरिक्सनलाई मार्क गर्न सफल भए र उनले आफ्नो क्षमता देखाउन पाएनन् ।’ 

प्लेयर्स टू वाच 

इभान पेरिसिक, क्रोएसिया 

आइसल्याण्डविरुद्धको उत्कृष्ट जितमा गोल गरेका पेरिसिक पुनः क्रोएसियाली अग्रपंक्तिको खतरनाक हतियार रहेको पुष्टि गरेका छन् । 

भलै डेनमार्कले अहिलेसम्म एक गोलमात्र खाएको छ, र त्यो पेनाल्टीमा थियो । 

डेनमार्कविरुद्धको खेलको दौरान इन्टर मिलानका यी विंगरको गति र क्षमता उनको टिमको सपना साकार बनाउन महत्वपूर्ण हुन सक्छ । 

आन्द्रेस कोर्नेलस, डेनमार्क 

उल्लेखनीय यो छ कि डेनमार्कले सबै २९ गोल डिबक्स भित्रबाट गरेको थियो । यसको मतलब डेनमार्कका लागि कोर्नलसको भूमिका महत्वपूर्ण हुन सक्छ । इरिक्सनले उपलब्ध गराएको बललाई अन्तिम प्रहारका लागि कोर्नेलस उपयुक्त विकल्प हुन सक्छन् । 

म्याच फ्याक्ट्स 

– क्रोएसिया र डेनमार्क छैटौं पटक आमने सामने हुँदैछन् । तीमध्ये दुई दुई खेल दुवै टोलीले जितेको थियो र एक खेल बराबरीमा सकिएको छ ।
 
– ठूला प्रतियोगितामा क्रोएसिया र डेनमार्क यसअघि एकपटक मात्र भिडेका छन् ।
 सन् १९९६ को युरोकपमा क्रोएशियाले डेनमार्कलाई समूह चरणमा ३–० गोलले पराजित गरेको थियो ।
 
– क्रोएसियाले विश्वकपमा गरेको पछिल्लो ७ मध्ये ६ गोल दोस्रो हाफमा सम्भव भएको छ ।
 
– जारी विश्वकपमा क्रिष्टियन इरिक्सनले अन्य डेनिस खेलाडीको तुलनामा सबैभन्दा धेरै शट प्रहार गरेका छन् । उनले ४ शट प्रहार गरेका छन् । पछिल्लो १६ खेलमा उनले १३ गोल र ५ असिष्ट गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया