प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

 बैशाख २३, २०७६ सोमबार ७:४४:५१ | रासस

काठमाण्डाै – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५ औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करिब ६ खर्ब ३० अर्ब रुपैयाँ सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । यसैअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।

उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिनुभयो ।

उहाँले प्राधिकरणको पुनःनिर्माणको काम द्रुत गतिमा अघि बढिरहेको तथा पछिल्लो एक वर्षमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको भन्दै पुनःनिर्माणको कामलाई छिटो र थप प्रभावकारी बनाउन सरकारले हरतरफले प्राधिकरणलाई सहयोग गर्ने वचन दिनुभएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडासहित विपक्षी दलका प्रतिनिधिलगायत प्राधिरणसँग सम्बन्धित पदाधिकारीको सहभागिता थियो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया