काभ्रेको अर्गानिक हिमालय होटलले बिजुली चोरेको खुलासा

 असार १८, २०७५ सोमबार ९:३७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीको अर्गानिक हिमालय होटलले बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मी सहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट सिधै हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार होटलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो ।

‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको दखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’, यादवले भन्नुभयो, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, बिजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं ।’

उहाँले सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महशुल निर्धारण हुने जानकारी दिनुभयो । यसअघि काभ्रेमै विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका थिए । 

यसैबीच पत्रकार कनकमणि दीक्षितले यो कम्पनी रहेको जग्गा केही महिना अगाडि आफूले किनेको र बिजुलीको मिटर कम्पनीकै नाममा रहेको जानकारी दिनुभयो । आफूले जग्गा किनिसकेपछि बिजुलीको मिटर लिन निवेदन दिएको र अहिलेसम्मको बक्यौता कम्पनीले तिर्ने भनेकोमा नतिरी उल्टो चोरी पनि गरेको कारण यस्तो हुन गएको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेका छन् ।

प्राधिकरणले विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा देशभरी सञ्चालन गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया