विश्वविद्यालय एक महिनादेखि ठप्प

 बैशाख २५, २०७६ बुधबार ११:१५:२१ | रासस
unn.prixa.net

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । 

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ । प्राध्यापकहरूले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले त्यही अध्ययनरत छ विद्यार्थीलाई कालोमोसो दलेको भन्दै दुई महिनाका लागि निष्काशन गरेको छ । त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । 

कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ । 

राजनीतिक दल र प्राध्यापक सङ्घसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उहाँले बताउनुभयो । विश्वविद्यालयमा गएको एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ । 

गएको असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो । गएको एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया