विद्युत् नियमन आयोगले पायाे पूर्णता

 वैशाख २५, २०७६ बुधबार २०:८:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो । आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त हुनुभएको छ । सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुनुहुन्छ । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त हुनुभएको छ ।

आयोगका नवनियुक्त पदाधिकारीले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष सिंहलाई सपथ गराउनुभयो ।

त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य धिताल, कलवार, खतिवडा र भट्टराई (ज्ञवाली)लाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताउनुभयो । 

सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत् नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो । आयोगले विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत् खरिद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ ।

आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया