दाङ, बाँके र बर्दियाका बिभिन्न ठाउँ डुबानमा

 असार १८, २०७५ सोमबार ११:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् । वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् ।

दाङको देउखुरी उपत्यका जलमग्न

दाङका उज्यालो सहकर्मी हेमराज शर्माका अनुसार वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा   लमही—तुल्सीपुरको यातायात सेवा प्रभावित भएको छ । दाङको बबइखोला, कटुवाखोला, गुर्जेखोला, पत्रेखोला ग्वारखोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नं. ६ खैरी निवासी सुदन खनालले वताउनुभयो  । ‘घरहरुमा पानी पसेको छ’उहाले भन्नुभयोे–‘घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ ।’

राप्ती, बबई र अरु नदी तथा खोलाका कारण ठाउँठाउँमा डुबानको खतरा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिममा राखिएको छ । त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान सहित उच्च सतर्कता अपनाईएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो ।

‘बाढीको उच्च जोखिम क्षेत्रमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, बवई गाउँपालिका, शान्तिनगर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको तीन दर्जन वडाहरुलाई तोकिएको छ’ उहाले भन्नुभयो– बाढीको मध्यम जोखिम क्षेत्रहरुमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिकाका नदी आसपासका वडाहरुलाई तोकिएको छ ।’

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामाग्री सहित एक/एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । साथै पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ र ३ लाईतोकिएको सुचना व्यवस्थापन अधिकृत दाहालले जानकारी दिनुभयो । 

पहिरोको मध्यम जोखिम क्षेत्रकारुपमा बबई गाउँपालिका वडा नम्बर २ र ३, बंगलाचुुली गाउँपालिका वडा नम्बर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्बर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरु राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरुलाई प्रभावित बनाउने देखिएको छ ।

४ वटा स्थानीय तहका अधिकांश वडाहरुमा बाढी पस्यो भने एक हजार घरधुरी प्रभावित हुनेछन् भने ५ हजार जनसंख्यालाई असर पर्ने देखिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

बर्दियाका ठाउँ ठाउँमा डुबान

उज्यालो सहकर्मी भावुक योगीका अनुसार लगातार परेको पानीका कारण वर्दियाका ठाउँ ठाउँमा घर डुबानमा परेको छ । वर्दियाको मधुवन नगरपालिका ५ र शुक्रवस्तीका  ३४ घर डुबानमा परेको छ ।  स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण त्यहाँका घर डुबानमा परेको मेयर गणेश केसीले बताउनुभयो । डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्रमाविमा राखिएको छ ।

प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका हुन् । वर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् । 

नेपालगञ्ज जलमग्न

बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्माका अनुसार १२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन्। न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् । 

सडक जलमग्न भएका कारण मानिसलाई हिँडडुल गर्न कठिनाई भएको छ । एडीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको  हो । 

जिल्ला प्रहरी कार्यालय बाँँकेका एसपी टेकबहादुर तामाङले राप्ती नदीमा पानीको सतह सामान्य  रहेको जानकारी  दिनुुभयो ।

 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया