नेपालले सन् २०२० मा वैशाख दिवस आयोजना गर्ने, भियतनामी प्रमलाई नेपाल भ्रमणको निम्तो

 बैशाख २९, २०७६ आइतबार ७:८:५ | रासस
unn.prixa.net

भियतनाम – प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्नुहुँदा भियतनामी प्रधानमन्त्रीले स्वागत गर्नुभएको थियो भने भियतनामी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उहाँहरुबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिनुभयो ।

आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिनुभएको छ ।

दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे  पनि छलफल गर्नुभएको बताइएको छ ।

यो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राख्नुभएको भियतनामी अधिकारीले जनाएका छन् । उहाँले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य र भियतनामी प्रधानमन्त्री फुककी पत्नी ट्रान न्गुयट थुबीच पनि छुट्टै भेटघाट भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा हो चि मिन्ह हाउस अवलोकन
    
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार हो ची मिन्ह हाउसको अवलोकन गर्नुभएको छ । सन् १९५८ देखि १९६९ सम्म हो चि मिन्ह यो हाउसमा बस्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको शयन, अध्ययन र बैठक कक्ष अवलोकन गर्नुभयो । प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड हो चि मिन्ह अमर रहुन्’ भनी उहाँको स्मरण गर्नुभएको थियो । यो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया