चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

 वैशाख ३१, २०७६ मंगलबार १०:४६:१० | रासस
unn.prixa.net

झापा – नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गएको चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो ।

वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासङ्घ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब २ सय ३१ रुपैयाँ, महङ्गी भत्ता १ सय ४५ रुपैयाँ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ सबै चिया बगान तथा कारखानामा कार्वान्यन गर्ने उल्लेख छ ।

गएको साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने सहमति गरिएको छ । यसैगरी, सहमतिको दोस्रो बुँदामा श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक सङ्घमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख छ । 

अन्तिम बुँदाको सहमतिमा गएको चैत १७ गतेदेखि बन्द रहेका चिया बगान मंगलबारदेखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक सङ्घका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरीले तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गर्नुभएको छ ।

चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर गएको ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै कठोर आन्दोलनमा थिए । सहमति भएकाले मजदुर मंगलबारदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया