एकै वडामा १ सय ६३ जनाको बालविवाह

 वैशाख ३१, २०७६ मंगलबार ११:१८:३४ | रासस
unn.prixa.net

डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । 

यो संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ ।”

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ । मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ । 

यो वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले एक, राम्रो घर परिवार पाउँदा सात, चाँडो विवाह गर्ने मान्यतामा पाँच, मेला पर्वमा एक, भविष्य राम्रो हुने आशामा एक र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताउनुभयो । 

बालविवाह गर्नेको जिल्लाभरिको सर्वेक्षण गर्ने हो भने झण्डै एक हजारभन्दा बढी तथ्याङ्क निस्किन सक्ने दिपायलका स्थानीय सर्वजीत देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको पहाडी जिल्लामा सबैभन्दा बढी डोटीमा बालविवाह हुने गरेको छ, तथ्याङ्क निकाल्ने हो भने हजारौँ भेटिनेछन् ।”

जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि आफ्नो नगरपालिकामा बालविवाह रोक्न सकेको छैन । नगरपालिका प्रमुख मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने विरुद्ध कडारूपमा उत्रिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालविवाह र बालश्रम अन्त्यका लागि हामीले विभिन्न काम गर्दै आएका छौँ, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याएरै छाडिने छ ।” जिल्लामा बालविवाहले विकराल रूप लिँदै आएको छ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया