प्रम ओलीबाट नेपालमा लगानीका लागि कम्बोडियाली लगानीकर्तासँग आग्रह

 जेठ १, २०७६ बुधबार ७:५:४ | रासस
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताउनुभएको छ । 

नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सार्वजनिक– निजी साझेदारी र लगानी ऐन लागू गरिएको बताउँदै नेपालमा लगानीकर्तालाई सहजताका लागि सरल र सहज विधि एवं प्रक्रिया रहेको तथा भारत र चीनजस्ता ठूला बजार  यससँग जोडिएको जानकारी दिनुभयो ।

नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय सङ्गठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको उहाँले उल्लेख गर्नुभयो । “नेपालको जुनसुकै क्षेत्र पनि लगानीका लागि निश्चित प्रतिफल पाइने क्षेत्र हो । कृषि, खनिज स्रोत, जडीबुटी, पर्यटन उद्योग र वित्तीय बजारजस्ता क्षेत्रमा लगानीका लागि अवसरहरु छन्”, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालले हालै लगानी सम्मेलन गरेको र त्यसमा ४० राष्ट्रका प्रतिनिधि सहभागी भई  ठूला १८ परियोजनामा वित्तीय लगानी गर्न प्रतिबद्धता आएको जानकारी उहाँले दिनुभयो । उहाँले बौद्धमार्गी भएको नाताले कम्बोडियालीले शाक्यमुनि गौतमबुद्धको जन्मस्थल र बौद्धदर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्ने औँल्याउँदै  सोही स्थलमा अन्तर्राष्ट्रिय वैशाख दिवस मनाउन सम्बन्धित निकायहरुमा परामर्श गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “म प्रधानमन्त्री सामदेक हुन सेनलाई हाम्रो प्रयासमा सहयोग गर्न र आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न आग्रह गर्दछु ।” नेपालले कम्बोडियाको तीव्र आर्थिक विकास र समृद्धितिरको निरन्तर यात्राबाट धेरै कुरा सिक्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह 

कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विदेशमा लगानी गरिरहेका कम्बोडियाका उद्योगपति र व्यवसायी समूहहरुलाई नेपाललाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले कम्बोडियामा लगानीका लागि नेपाली लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गरिने विश्वास दिलाउँदै कम्बोडियालीहरुलाई नेपाल, विशेषगरी लुम्बिनीमा भ्रमण गर्न अनुरोध गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया