बलियाे बेल्जियमलार्इ हराउँदै अघिल्लाे चरण पुग्ने दाउमा जापान

 असार १८, २०७५ सोमबार २०:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकपको प्रिक्वार्टर फाइनलमा सोमबार राती बेल्जियम र जापान भिड्दैछन् ।

समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापानबीचको खेल पौने १२ बजे रोस्तोभ एरिनामा हुनेछ । बेल्जियम टिमलाई ‘डार्क हर्स’ भनिन्छ । उसको उत्कृष्ट प्रदर्शनका कारण उसले यो उपमा पाएको हो । 

समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बेल्जियमले नौ गोल गर्दै २ गोल खाएको थियो ।

जापान भने समूह उपविजेता बन्नका लागि फेयर प्लेमा सेनेगललाई पछि पार्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । 

समूह चरणमा उसले कोलम्बियालाई हराएको थियो भने सेनेगलसँग बराबरी र पोल्याण्डसँग पराजित भएको थियो । 
उसले चार गोल गर्दै चारै गोल खाएको थियो ।

अघिल्लो संस्करणमा निकै बलियो टिम सहित ब्राजिल गएको बेल्जियम क्वार्टर फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै घर फर्कन बाध्य भएको थियो ।

त्यसबेला देखिको भोक बेल्जियम टिममा अझ पनि छ । रोबर्टो मार्टिनेजको टोली बेल्जियममा उत्कृष्ट खेलाडीको समिश्रण छ ।
बेल्जियम टिममा प्रिमियर लिगका उत्कृष्ट १२ खेलाडी छन् ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले जापानलाई सहजै हराउने आकलन गरेका छन् । किनभने उनका तीन मुख्य खेलाडी, डिफेन्समा भिनसेन्ट कम्पनी र थामस भर्मालिन तथा अग्रपंक्तिमा रोमेलु लुकाकु पूर्णरुपमा फिट भइसकेका छन् । 
प्रिक्वार्टर फाइनलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाएको बेल्जियमले सात महिना अघि जापानको परीक्षण गरिसकेको छ ।
नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो र बेल्जियमले जापानको बलियो पक्ष र कमजोरी थाहा पाउने मौका समेत पाएको थियो ।
तर समय फेरिएको छ । जापानको प्रशिक्षण त्यसबेला भाहिद हालिलोजिकले गरेका थिए । 

अहिले जापानी प्रशिक्षक अकिरा निशिनो छन् । प्रशिक्षक परिवर्तन भएसँगै जापानको रणनीति पनि परिवर्तित भएको छ । त्यसबेला बेल्जियमले अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको थियो ।

मार्टिनेज नियुक्त भएपछि बेल्जियमले पछिल्लो दुई वर्षमा २३ खेल खेलेको छ । मार्टिनेजको पहिलो खेलमा बेल्जियम स्पेनसँग पराजित भएको थियो ।
त्यसपछि बेल्जियमले हारको सामना गर्नु परेको छैन । यस क्रममा उसले पाँच बराबरी खेलेको छ ।

उत्कृष्ट लयमा रहेको बेल्जियमले मार्टिनेजको प्रशिक्षणमा ७३ गोल गरिसकेको छ र १९ गोल खाएको छ ।

जापान भने तुलनात्मक रुपमा केही कमजोर भएपनि विश्व एरेनामा उसले बल्जियमलाई टक्कर दिन सक्ने क्षमता राख्दछ ।

नियमित ९० मिनेट र अतिरिक्त समयमा बेल्जियमलाई रोक्न सकेको खण्डमा जापान ठूूलो उपलब्धी नजिक पुग्नेछ ।
जापान टिममा शिन्जी ओकाजाकी, केइसुके होन्डा र शिन्जी कागावा छन् ।

यी तीन खेलाडीले जापानका लागि ११८ गोल गरेका छन् । शिन्जी ओकाजाकीले राष्ट्रिय टिमबाट ११६ खेलमा ५० गोल गरेका छन् ।
जापानका डिफेन्डर माया योशिदाले जापान इतिहास कायम गर्ने लक्ष्यमा रहेको प्रतिक्रिया दिए ।

‘हामी अहिलेसम्म क्वार्टर फाइनलमा पुगेका छैनौं । हाम्रो लागि यो ठूलो चुनौति हुनेछ ।’ योशिदाले भने । ‘लुकाकु उत्कृष्ट खेलाडी हुन् । एक जना खेलाडीले उनलाई रोक्न सक्दैनौं र उनलाई रोक्नु हाम्रो सबैभन्दा ठूलो चुुनौति पनि हो ।’

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले जापान टिम संगठित र बलियो रहेको बताए । ‘जापानलाई हराएर क्वार्टर फाइनल पुग्न हामी तयार छौं ।’

म्याच फ्याक्ट्स

–बेल्जियमले जापानविरुद्ध खेलेको पाँच खेलमा एउटामा मात्र जित हात पारेको छ । उसले दुई खेल बराबरी गरेको छ भने दुईमा हार ब्यहोरेको छ ।
–समूह चरणमा उसले सबैभन्दा बढी नौ गोल गरेको छ र समूह चरणमा शतप्रतिशत जित हात पार्ने तीन मध्ये एक टिम बेल्जियम हो ।
–पछिल्लो २२ खेलमा बेल्जियम अपराजित छ । उसले १७ जित र ५ बराबरी खेलको छ ।
–पछिल्लो २० खेलमा स्ट्राइकर रोमेलु लुकाकुले २३ गोल गरेका छन् । यो विश्वकपमा दायाँ खुट्ट, बायाँ खुट्टा र हेड मार्फत गोल गर्ने दुईमात्र खेलाडी रोमेलु लुकाकु र क्रिष्टयानो रोनाल्डोमात्र हुन् ।
–सन् २०१० पछि जापानका केइसुके होण्डाले चार गोल र तीन एसिस्ट गरेका छन् । यो प्रतियोगितामा जम्मा ३८ मिनेट मैदानमा विताएका होन्डाले एक गोल र एक एसिस्ट गरेका छन् । 

प्लेयर्स टू वाच 

रोमेलु लुकाकु–बेल्जियम

म्यान्चेष्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले यो विश्वकपमा चार गोल गरेका छन् । बेल्जियम टिमका सर्वाधिक गोलकर्ता लुकाकुले ७१ खेलमा ४० गोल गरेका छन् । 

यो विश्वकपको सर्वाधिक गोलकर्ता ह्यारी केन भन्दा एक गोलले पछि रहेका लुकाकु गोल्डेन बुटको दौडमा छन् । उनको शारीरिक शक्ति, द्रुत गति र उत्कृष्ट फिनिसिङ कलाले जापानको डिफेन्सलाई चुनौति दिनेछ । 

ताकाशी इनुई–जापान 

स्पेनिस ला लिगा क्लब इबारका मिडफिल्डर इनुई शिन्जी कागावा र केइसुके होण्डको जस्तो अनुभव नभएपनि यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सेनेगलविरुद्धको खेलमा गोल गरेका इनुईले पोल्याण्डसँग हार ब्यहोर्दा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । जापानका लागि उनले ३० खेलमा पाँच गोल गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया