कुलमान घिसिङविरुद्धको मोर्चाबन्दी असफल, उद्योगीले ४ अर्ब ३० करोड  तिर्नैपर्ने

 जेठ ६, २०७६ सोमबार १९:३८:८ | रासस
unn.prixa.net

काठमाण्डौ –  उद्योगी व्यापारीले ट्रङ्क तथा डेटिकेटेड लाइनको बक्यौता तिर्नैपर्ने भएको छ । उद्योगी व्यापारीले ट्रङ्क तथा डेडिकेटेड लाइनमार्फत उपभोग गरेको बिजुलीको भुक्तानी गर्नुपर्ने विद्युत प्राधिकरणको निर्णयलाई पाटन उच्च अदालतले सदर गरिदिएको छ । 

अब उद्योगी व्यापारीले ४ अर्ब ३० करोड रुपैयाँ प्राधिकरणलाई तिर्नैपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णयलाई अवज्ञा गर्दै उद्योगी व्यापारीले मोर्चाबन्दी गरेर अदालतमा मुद्दा हालेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । उच्च अदालत पाटनले रघुपति जुट मिल, अरिहन्त पोली म्याक्स, अरिहन्त मल्टी फाइबर, एभरेष्ट पेपर मिल र शुभश्री अग्नि सिमेन्ट प्रालिलाई प्राधिकरणकले उल्लेख गरेअनुसारको महसुल तिर्नुपर्ने फैसला गरेको हो । 

उद्योगीले प्राधिकरणले गैरकानुनी रुपमा महसुल लिन लागेको बताउँदै आएका थिए भने प्राधिकरणले बढी सुविधा लिने गरी विद्युत लाइन लिएकाले बढी शुल्क तिर्नुपर्ने बताउँदै आएको छ ।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले प्राधिकरणकै पक्षमा फैसला आएको जानकारी आएको बताउनुभयो । प्राधिकरणका कानुन विभागका प्रमुख बेलप्रसाद शर्माले पनि प्राधिकरणले निर्धारण गरेअनुसारको महसुल तिर्न उद्योगी व्यवसायीलाई पाटन उच्च अदालतले आदेश दिएको बताउनुभयो । 

प्राधिकरणले यसअघि सबै उद्योगको यर्थाथ विवरण पत्ता लगाउन उद्योगमा प्रयोग भएको ‘टीओडी’ मिटरको अध्ययन भइरहेको बताएको थियो । प्राधिकरणले ६७ उद्योगलाई ट्रङ्क लाइनमार्फत बिजुली उपलब्ध गराएको छ । त्यसमा २३१ वटा डेडिकेटेड लाइन छन् । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार डेडिकेडेट लाइनबाट विद्युन लिएका उद्योग, व्यवसाय, अस्पताल, खानेपानी जस्ता संस्था वा निकायले नियमित रुपमा विद्युन महसुल तिर्दै आएका छन् । तर कहिल्यै  बिजुली नकाटिने ट्रङ्क लाइनबाट विद्युत लिएका उद्योगी व्यवसायी भने प्राधिकरणले बढी महसुल लिएको भन्दै अदालत गएका थिए ।  

ट्रङ्क लाइन र डेडिकेटेड लाइनमार्फत् प्राधिकरणले व्यवसायीलाई ३ सय १५ मेगावाट बिजुली उपलब्ध गराएको छ ।


 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया