च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – प्रतिनिधिसभाको मंगलबारको बैठकले वन तथा वातावरणसम्बन्धी दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले गहन छलफल र अध्ययन गरेर मात्र विधेयकलाई अन्तिम रुप दिनुपर्ने सुझाव दिनुभएको थियो । मन्त्री बस्नेतले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्र्रश्नको जवाफ दिँदै विधेयक समृद्ध बनाउन प्राप्त सुझावलाई ग्रहण गर्दै वनको संरक्षण, उपयोग र लाभका समन्यायिक वितरण गर्ने बताउनुभयो ।
उहाँले नेपालमा वन ४४.७४ प्रतिशत रहेको र यति ठूलो स्रोत निष्क्रिय भएर बसेको हुँदा वातावरणीय, आर्थिक र सामाजिक तीनै पक्षबाट उपयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री बस्नेतले वनको पूर्ण क्षमतामा उपयोग तथा व्यवस्थापन गर्ने त्यो नीतिलाई विधेयकमा व्यवस्था गरी दिगो उपयोग बनाउने जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले वातावरणसम्बन्धी विधेयकमा प्रदूषकले प्रदूषण गरेबापत क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित हुने अवगत गराउनुभयो ।
विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिलेन्द्रप्रसाद बडूले ४४ प्रतिशत वन छ भन्ने तथ्याङ्क सही भए÷नभएको बारेमा अध्ययन गर्नुपर्ने र वन अतिक्रमण गरेर भोगाधिकार गरेका बस्तीका कारणले वनमा परेको असरतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
सांसद घनश्याम खतिवडाले वन संरक्षण गर्न सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको र नयाँ ऐन बनाउँदा चुरेको वन संरक्षणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । सांसद रामेश्वर राय यादवले वन क्षेत्रमा रुख कम हुन नदिन वृक्षरोपणमा जोड दिनुपर्ने बताउँदै वन र बस्ती जोडिएको ठाउँमा बढी वन विनाश भएकोप्रति सरकारले ध्यानाकर्षण गराउनुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले संस्थागत रुपमा वन क्षेत्रको फँडानी गर्ने काम भइरहेको भन्दै विधेयकमा त्यससम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले वनस्पतिको आयु हेरेर पुस्तान्तरण गर्नु जरुरी रहेको भन्दै वृक्षरोपण, संरक्षण र उपयोगका बारेमा नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका समस्या बढ्दै गएको उल्लेख गर्दै ठूला राष्ट्रले गरेका गलत प्रयोगका कारण नेपालजस्ता साना राष्ट्रहरुलाई जलवायु परिवर्तनका असर परेको बताउनुभयो ।
सांसद पुष्पा भुसालले काठमाण्डौजस्ता ठूला शहरमा धुँवा र धुलोका कारणले जनजीवन निकै कष्टकार बनेको बताउँदै जलवायु परिर्वतनसँग जोडिएर आउने विषयलाई विश्व समुदायसँग जोड्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।