चाम्लिङको पार्टी एसडीएफले सिक्किमका नयाँ मुख्यमन्त्रीको सपथ ग्रहण बहिष्कार गर्ने

 जेठ १२, २०७६ आइतबार २०:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ खाँदैछन् ।

सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा हुने एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाउनेछन्  

गान्तोकको पाल्जोर स्टेडियम सोमबार हुन लागेको एसकेएम पार्टीको नयाँ सरकारको सपथ ग्रहण समारोहलाई पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रण्ट(एसडीएफ) ले बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता भीम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको सपथ ग्रहण समारोहमा आफूहरु सहभागी नहुने जानकारी दिएका छन् । 

एसडीएफले जनप्रातिनिधित्व ऐनको प्रावधान तथा आशय र सर्वोच्च न्यायालयको निर्णयलाई नजरअन्दाज गर्दै सम्बन्धित निकायबाट एसकेएमका अध्यक्ष पीएस गोलेलाई मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराइनु आश्चर्यजनक मात्रै नभएर दूर्भाग्यपूर्ण  भएको भन्दै सपथ ग्रहणमा सहभागी नहुने जनाएको छ ।

साथै उसले  पीएस गोले भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएर कारावासको सजाय काटेर बहिर आएको वर्षदिन पनि नपुगेको बताउँदै एसकेएमले कानुन तथा व्यवस्थाको संकट उत्पन्न गराएको आरोप लगाएको छ । 

एसकेएम पार्टीले सरकारै नभैकन सिक्किमभरि व्यापकरुपमा विध्वंसात्मक गतिविधिहरु सुरु गरेको र त्राही–त्राहीको परिवेश सिर्जना गरेको एसडीएफले आरोप लगाएको छ ।  

एसकेएम पार्टीले सरकार नबन्दै यस्तो कानुन तथा व्यवस्थाको संकट राज्यमा खडा गरेकोले यसबाट सिक्किमेहरुको भविष्य असुरक्षित बन्ने  एसडीएफ विधायक दलको बैठकले ठहर गरेको विज्ञप्तिमा जनाइएको छ । 

ढल्यो चाम्लिङ नेतृत्वको २५ वर्षे एसडीएफ सत्ता 

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । 

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफं लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । 

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । 

सबै तस्बिर - सिक्किम एक्सप्रेस 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया