नेपाली नागरिक भएको भन्दै विवादमा मुछिएका भारतीय पूर्व सांसद सुब्बाको निधन

 जेठ १३, २०७६ सोमबार १८:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको आसामको तेजपुरबाट सांसद रहेका भारतीय कांग्रेसका नेता मणिकुमार सुब्बाको सोमबार नयाँ दिल्लीमा निधन भएको छ । लामो समयदेखि मुटुका बिरामी रहेका सुब्बाको दिल्लीमा उपचारका क्रममा निधन भएको हो । 

उनी बहुप्रतिष्ठित तेजपुर क्षेत्रबाट सन् १९९८, २००४ र २००९ मा लोकसभा सदस्य निर्वाचित भएका थिए । 

सुब्बा उत्तर पूर्वी भारतका धनी सांसदमध्येका एक थिए । होटललगायतका विभिन्न व्यापारमा उनको लगानी थियो । 

नागरिकता विवाद

मणिकुमार सुब्बा नागरिकताका कारण सधैँ विवाद र चर्चामा रहेका थिए । आसामका पूर्व मुख्यमन्त्री प्रफुल्लकुमार महन्तले सुब्बाको नागरिकताबारे प्रश्न उठाएका थिए । सन् १९९७ मा भारतको गृह मन्त्रालयले सुब्बामाथि विदेशी नागरिक भएको आरोपबारे अनुसन्धान गर्न सीबीआईलाई निर्देशन दिएको थियो । 

सन् १९९८ मा सुब्बाविरुद्ध सीबीआईले मुद्दा दायर पनि गर्यो । सन् २०११ मा सीबीआईले सुब्बा नेपाली नागरिक भएको र उनको वास्तविक नाम मणिराज लिम्बू भएको भन्दै आसाम अदालतमा मुद्दा दायर गर्यो । सुब्बालाई नक्कली कागजात बनाई पासपोर्ट बनाएको समेत आरोप थियो ।

पछि नेपाल सरकारले आसाम अदालतलाई पत्र लेख्दै सुब्बा नेपाली नागरिक नभएको प्रष्ट पार्यो । नेपाल सरकारले लेखेको पत्रमा एक जना मणिराज लिम्बू नाम गरेका व्यक्तिलाई हत्याको आरोपमा जन्मकैद सुनाइएको र सन् १९८२ मा रिहा गरेको पनि उल्लेख थियो ।

तर सुब्बाका विरोधी भने सन् १९६२ मा सुब्बा नेपालबाट सिक्किम गएको आरोप लगाउँदै आएका थिए । त्यतिबेला सिक्किम स्वतन्त्र राज्यको रुपमा रहेको थियो । तर सुब्बाका समर्थक भने उनी दार्जीलिङबाट सिक्किम हुँदै आसाम गएको बताउँछन् । सुब्बा गान्धी परिवारका प्रिय थिए । 

सुब्बाका श्रीमती, एक छोरा र तीन छोरी छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • तेज प्रकाश भण्डारी

    June 4, 2019, 12:42 a.m.

    कुनै शंका छैन। म झापा साबिक पृथ्विनगर हाल भद्रपुर निवासी हु। उनि मेरै उक्त गाउ संग सम्बन्धित र पुरानो बसोबास भएका ब्यक्ती र तिनै हत्या का आरोपी मनि राज नै पुर्ब भारतिय सांसद मनिकुमार सुब्बा हुन।

  •  0 Reply

तपाईको प्रतिक्रिया