युराेप भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुँदै

 जेठ २७, २०७६ सोमबार ७:३७:१९ | रासस
unn.prixa.net

जेनेभा - प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

साेमबार नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली साेमबार नै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री स्वागत समारोहमा

प्रधानमन्त्री ओली राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी हुनुभयो ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको र अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको उल्लेख गर्दै विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

लामो बलिदान र सङ्घर्ष पूर्ण भएर जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेका छन् भन्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो ।

गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताउनुभयो ।

यसअघि युरोपका विभिन्न देशको भ्रमणका क्रममा सुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा आइपुग्नुभएको हो । जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित स्वीस मिशनका प्रमुख भ्यालेन्टिन जेलवेगरका साथै नेपाली राजदूतसहित नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया