८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो

 जेठ २८, २०७६ मंगलबार १६:५२:४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । 

पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ ।

विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । यसमा रहेका यात्रुकाे अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ । 

यो जहाजले गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाजको खोजी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसनको सहयोगमा भारतीय वायु सेनाको विमान सी–१३०, एएन–३२ एस, एमआई–१७ लगायत भारतीय स्थल सेनाको आधुनिक हेलिकप्टरमार्फत गरिएको थियो । 

यसअघि तीन वर्ष पहिले भारतीय वायु सेनाकाे एएन ३२ विमान पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए । 

त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन ।  त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया