गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

 जेठ २९, २०७६ बुधबार १४:१३:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुने बित्तिकै उहाँहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाण्डाैका गुठीयारले आन्दोलन सुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गर्नुभयो । काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सभामुख कृष्णबहादुर महरासित समय लिइ उहाँले प्रस्तावित विधेयकमा पुस्ताैँपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक सरोकारवाला निकायसँगको छलफल बिना किन ल्याउनु पार्‍यो ? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधान विपरीत छ ।

निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो । धार्मिक स्वतन्त्रता विपरीत भयो । म विधेयक फिर्ता लिन आग्रह गरेको छ ।” राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो ।

उहाँले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया