बिश्केकमा नरेन्द्र मोदी र इमरान खानबीच कुराकानी

 जेठ ३२, २०७६ शनिबार ११:१४:४४ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच कुराकानी भएको छ ।

किर्गिस्तानको राजधानी बिश्केकमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा दुई छिमेकी देशका प्रधानमन्त्रीबीच शुक्रबार कुराकानी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

मोदी र खानबीच सम्मेलनको दोस्रो दिनमात्रै कुराकानी भएको हो । त्यसैले पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि यसलाई प्राथमिकताका साथ समाचार बनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीेले पत्र लेखेर भारत र पाकिस्तानबीच फेरि वार्ताको वातावरण बनोस् भन्ने चाहेको बताइएको छ । 

इमरान खानले भारतीय आम चुनावमा नरेन्द्र मोदीको जितपश्चात मे २६ मा फोन गरेर बधाई दिनुका साथै दुवै देशका नागरिकको हितका लागि मिलेर अगाढि बढ्ने प्रतिबद्धता जनाएका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियामा शान्ति र समृद्धि ल्याउनका लागि हिंसामुक्त वातावरण बन्नु पर्नेमा जोड दिएका थिए । 

सन् २०१६ मा पठानकोट एयरबेसमा भएको आक्रमणपछि भारतले पाकिस्तानसँग द्विपक्षीय वार्तामा सहभागी भएको छैन । गएको फेब्रुअरी १४ मा कश्मीरकाे पुलवामामा भएको आक्रमणपछि त भारत र पाकिस्तानबीचको सम्बन्ध झनै चिसिँदै गएको थियो । यस्तो अवस्थामा दुई देशका प्रधानमन्त्रीबीचमा कुराकानी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया