सरकारले आफूलाई मन नपरेकाहरुको मुख थुन्दै गएको छ: कांग्रेस नेता गगन थापा

 असार १, २०७६ आइतबार १४:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन आह्वान गर्नुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उहाँले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तिलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गर्नुभएको हो ।

चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्नसक्ने भन्दै उहाँले सबैलाई सचेत हुनुपर्नेमा जोड दिनुभयो । सरकारले आफूलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उहाँले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमान्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार ! किनकि यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौँ । यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।’

सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागू हुने भन्दै उहाँले ‘यो कानुन मेरा लागि होइन भनी सोच्ने हो’ भने एकदिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै अवस्था श्रृजना हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उठौँ ,बोलौँ , जागौँ, सरकारको यो कानुनका विरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाफ मात्रै होइन । हाम्रो आन्दोलनको, अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत सिर्जना गर्न पनि म सबैलाई अनुरोध गर्दछु ।’

स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्नेगरी गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जती र शिष्टचार वा नैतिकताको नाममा जुनबेला मनलाग्यो, जसको जतिबेला जहाँ मन लाग्यो त्यही ठाउमा गएर मुख थुन्न पाउने गरी कानुन सरकारले बनाउन लागेको छ ।’

उहाँले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको पनि दावी गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ, कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हत्तोत्साहित गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाखसम्मको जरिबाना भोग्नुपर्नेछ । जिस्काउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’

एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफूलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको पनि उहाँले बताउनुभयो । उहाँले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान बाेकेका सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याँक्ने, गीत गाउने गायक, चलचित्रको समीक्षा गर्ने समीक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उहाँले व्यंग्य गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया